अण्डाको नयाँ बिक्री मूल्य तोकियो, प्रतिक्रेट कति ?
काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ। संघको काठमाडौँमा सम्पन्न बैठकले अण्डा उत्पादक किसानहरूको सिफारिसका आधारमा मूल्य समायोजन गर्ने निर्णय गरेको हो।
संघका अनुसार माघ ४ गते बसेको कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार माघ ५ गतेदेखि लागू हुने गरी चितवनलाई आधार मानी अण्डाको समर्थन बिक्री मूल्य तोकिएको हो। पछिल्लो समय उत्पादन लागत वृद्धि, दाना, औषधि, ढुवानी तथा श्रम खर्च बढ्दै गएको सन्दर्भमा किसानको लागत धान्न सक्ने गरी मूल्य समायोजन गरिएको संघले जनाएको छ।
नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको फार्म मूल्य प्रतिक्रेट ४८० रुपैयाँ, ठूलो अण्डाको ४६५ रुपैयाँ र मिडियम अण्डाको ४४५ रुपैयाँ कायम गरिएको छ। संघले चितवनबाट लोड भई देशभर अण्डा बिक्री–वितरण गर्दा दूरीअनुसार भाडा, कार्ड र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्ने स्पष्ट पारेको छ।
संघले तोकिएको मूल्य कार्यान्वयनमा सबै किसान, संकलक, होलसेलर तथा खुद्रा व्यवसायीहरूको सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ। मूल्य कार्यान्वयन नगरी अनियमित कारोबार भएमा संघले आवश्यक छलफल र कदम चाल्ने संकेत समेत दिएको छ।



