रास्वपामा प्रवेश गर्दै अमरेश कुमार सिंह
काठमाडौँ । निवर्तमान प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने घोषणा गरेका छन् ।
माघ ५ गते माता सीताको जन्मस्थल जनकपुरधाममा आयोजना हुने रास्वपाको कार्यक्रममा सहभागी भई पार्टी प्रवेश गर्ने उनले बताएका हुन् । स्वतन्त्र रहँदा देश र मधेशमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध उठाउँदै आएको आवाज अब रास्वपामार्फत अझ सशक्त रूपमा अघि बढाउने सिंहले शुक्रबार सामाजिक सञ्जालमार्फत बताएका छन्।
उनले मधेशको हित, शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, देश र मधेशको समग्र विकास चाहने अभिभावक, दिदीबहिनी तथा सबै नागरिकलाई सोही कार्यक्रममार्फत रास्वपामा जोडिन आग्रह गरेका छन् ।



