मिटरब्याजका नाइके गजेन्द्र मास्केका कारण सयौं परिवार विस्थापित,अवैध धन्दा सञ्चालन गर्न एक दर्जनबढी वकिल परिचालन
काठमाडौं। छोटो समयमा मोटो रकम कमाउने लोभले काठमाडौं उपत्यकामा मिटर ब्याजको अवैध धन्दा भयावह रूपमा फैलिँदै गएको छ। यस अवैध कारोबारले सयौं परिवारलाई घरबारविहीन बनाएको छ भने कतिपय पीडित, व्यवसाय,परिवार र देश नै छोड्न बाध्य भएका छन्। काठमाडौं प्रहरीका अनुसार दैनिक सयौं नागरिक आर्थिक लेनदेनसँग सम्बन्धित गुनासो बोकेर प्रहरी कार्यालय पुग्ने गरेका छन्।
मिटर ब्याजको धन्दाले केवल व्यक्ति होइन, सम्पूर्ण सामाजिक संरचनामै चोट पुर्याइरहेको प्रहरी स्रोत बताउँछन्। संघीय राजधानीको मुटु नागर्जुन नगरपालिका–६, टौखेलस्थित एक कोलोनीमा बसोबास गर्ने गजेन्द्र मास्के उर्फ मिटरव्याजी पछिल्लो समय काठमाडौंभरि चर्चामा छन्। विभिन्न सञ्चारमाध्यममा उनका गतिविधिबारे समाचार प्रकाशित हुन थालेपछि पीडितहरू एकपछि अर्को गर्दै सम्पर्कमा आउन थालेका छन्।
पीडितहरूको दाबीअनुसार मास्केको मिटर ब्याजको शैली परम्परागतभन्दा झन् नौलो, योजनाबद्ध र खतरनाक छ। उनले लगानी गर्दा धितोस्वरूप खाली चेक र तमसुकमा हस्ताक्षर गराउने, सावाँमा ब्याज पहिल्यै जोड्ने र पछि प्रहरी सेटिङमा चेक बाउन्स मुद्दा हालेर ऋणीलाई कानुनी जालमा फसाउने गरेको आरोप छ।
नागर्जुन–६ मा गाईफार्म सञ्चालन गर्दै आएका कुमार लामिछानेबाट ७५ लाख रुपैयाँ लगानी गरी झण्डै ५ करोड रुपैयाँ असुली गरेको खुलासापछि मास्केको अनुचित लेनदेनको नाङ्गो नाच बाहिर आएको छ। पीडित स्रोतका अनुसार मास्केले नागर्जुनकै चामल व्यापारी ताहिर हुसेनसँग मिलेमतो गरी खाद्यान्नमा कालोबजारी गर्दै करोडौं आर्जन गरेका छन्। हुसेनसँग २५ लाख लगानी गरी ५ करोडसम्म असुली गरेको आरोप लागे पनि अवैध कारोबारमा संलग्न भएकै कारण हुसेन खुलेर बोल्न डराइरहेको बताइन्छ। यस क्रममा हुसेनको परिवारको नाममा रहेको १६ रोपनी जग्गा रोक्का राख्ने सर्तसम्म पुगेको पीडितहरू बताउँछन्।
त्यसैगरी न्युरोडका गहना व्यापारी सुरेश सराफले १२ लाख रुपैयाँ लिएकोमा ६ महिनामै ३० लाख तिरेपछि पनि धितोस्वरूप दिएको चेक दुरुपयोग गरी ३६ लाखको चेक बाउन्स मुद्दा हालिएको गुनासो गरेका छन्। त्यसमाथि धितोस्वरूप लिएको १४ केजी चाँदी फिर्ता नगरेको सराफको आरोप छ। व्यापार बढाउने सपना थियो, मिटरव्याजीको जालोमा फसेर व्यवसाय नै छोड्नुपर्यो,सराफले गुनासाे गरेका छन्।
न्युरोडकै दिपक विश्वकर्माले १५ लाख रुपैयाँ घरायसी प्रयोजनका लागि लिएकोमा चेक बाउन्स मुद्दा र घर रोक्का भएपछि घर बेचेर २ करोड तिरेर विदेश पलायन हुनुपरेको उनका दाजु शंकर विश्वकर्माले बताए। सबैभन्दा गम्भीर खुलासा भने गत वर्ष सुत्केरी महिलालाई २४ दिन थुनाएको आरोप छ। रञ्जना गल्लीका कपडा व्यापारी सन्तोष अधिकारीकी डेढ महिनाकी सुत्केरी श्रीमतीलाई टेकु प्रहरीमा सेटिङ मिलाएर थुनाएको स्रोतको दाबी छ। यस घटनापछि व्यापारी परिवार व्यवसाय छोडेर विदेशिन बाध्य भएको बताइन्छ। मास्के जस्ता नामुद मिटरब्याजीले गर्दा नेपालमै केही गरेर खान्छु भन्ने युवालाइ उठिबास लगाउने गरेकाे खुलासा पीडितहरूले नै गरेका छन्।
कानुन के भन्छ
अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी कानुनले झुट्टा लिखत बनाउने, सावाँभन्दा कैयौं गुणा बढी ब्याज असुल्ने, धम्की दिने, शारीरिक–मानसिक यातना दिने, अचल सम्पत्ति हडप्ने र दासवत् काम गराउने सबै कार्यलाई गम्भीर अपराध मानेको छ। यस्ता अपराधमा संलग्नलाई कडा सजायको व्यवस्था छ। तर कानुन कार्यान्वयन गर्ने निकायको मौनताले पीडितहरू थप निराश भएका छन्।
मास्केमाथि उठेका गम्भीर आरोप सार्वजनिक भएसँगै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सूक्ष्म अनुसन्धान थालेको स्रोतले जनाएको छ। अपराध महाशाखा टेकुले पनि निगरानी बढाएको छ। तर प्रहरी संरक्षणमा नै यस्तो धन्दा चलेको आशंकाले अनुसन्धानमाथि नै प्रश्न उठेको छ।
एक दर्जन भन्दाबढी वकिल परिचालन
नागर्जुन नगरपालिकालाई आधार इलाका बनाउँदै मिटरव्याज धन्दा चलाइरहेका गजेन्द्र मास्केलाई सम्पर्क गर्दा उनले घुमाउरो भाषामा मिटर ब्याजमा लगानी गरेको स्वीकार गर्दै भने, मैले ७५ लाख जग्गामा लगानी गरेको हुँ, फाइदाबापत बढी मागेको हो। अब म वकिलमार्फत बोल्छु।
उनले मिटरव्याजमा लगानी गरेको रकम उठाउन र मुद्दा लड्न एक दर्जनबढी वकिल परिचालन गरेको र केही व्यक्तिको सहयोग रहेको स्वीकारोक्ति नै उनको अपराधप्रति सचेतता झल्काउने संकेत हो। मास्केको अपराधपुर्ण कार्यको खोजी गर्ने क्रममा उनका कानुनी सल्लाहकार अधिकारी भन्छन्, मास्के खै कस्तो मानिस हो। करिब एक दर्जन वकिल पालेका छन्। उनको धन्दा केहो ? बुझ्न गारो छ।
काठमाडौंको मुटुमा खुलेआम चलिरहेको मिटर ब्याज र त्यसमा प्रहरी संरक्षणको आशंका नेपाली समाजका लागि गम्भीर चुनौती बनेको छ। यदि कानून कार्यान्वयन गर्ने निकाय मौन बस्यो भने सर्वसाधारणको न्यायमाथि गम्भीर प्रश्न उठ्नेछ। नागर्जुनबासी भन्छन्,मिटरब्याजका किङ माथि कानुनी कारबाही कहिले हाेला।
पीडितहरूको संख्या दिनदिनै बढ्दै गइरहेको र थप खुलासा हुन बाँकी रहेको प्रहरी स्रोतले बताएको छ। मास्केको अपराधिक सञ्जालले कति परिवारलाई विस्थापित बनायो र कति सम्पत्ति हडपियो, यसको पूर्ण तथ्यांक नआउँदासम्म यो धन्दाको वास्तविक स्वरूप बाहिर आउन सक्दैन।


