५६ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयल निगमको खुल्ला रक्तदान, १६७ जना सहभागी
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको ५६ औं वार्षिकोत्सव (पुस २६ गते) को पूर्व सन्ध्यामा आज निगमको केन्द्रीय कार्यालय बबरमहलमा “खुल्ला रक्तदान कार्यक्रम” आयोजना गरेको छ । ‘रक्तदान नै जीवनदान हो’ भन्ने पवित्र उद्देश्यका साथ आज बबरमहल, काठमाडौंमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यालय परिसरमा बिहान ११ बजे देखि दिउँसो साढे ३ बजेसम्म रगत संकल गरिएको थियो । यस अवसरमा निगमका कर्मचारी, कर्मचारी परिवार, बबरमहल क्षेत्रका अन्य कार्यालयका कर्मचारी तथा निगम सम्बद्ध अन्य व्यक्तिहरू गरी जम्मा १६७ जना रक्तदाताले रक्तदान गरेका थिए भने जम्मा १६७ पिन्ट रगत संकलन भएको छ ।
प्रत्येक रक्तदातालाई रक्दान सक्ने बितिकै निगमको तर्फबाट रक्तदाताहरूलाई प्रसंशा पत्र र मायाको चिनो प्रदान गरिएको थियो । विगतदेखि नै निगमले प्रत्येक वार्षिकोत्सवको पूर्वसन्ध्यामा यस प्रकारको रक्तदान कार्यक्रम आयोजना गर्दै आईरहेको छ । निगमले आफ्नो व्यावसायिक जिम्मेवारीका साथसाथै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवीय कार्यहरूलाई निरन्तरता रूपमा गर्दै आईरहेको छ।
यस अवसरमा गत वर्ष निगमको ५५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन गरेकोमा नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र, भृकुटीमण्डपको तर्फबाट सन्देश थापाले निगमका कार्यकारी निर्देशकलाई प्रसंशा पत्र हस्तान्तरण गरेका थिए।
कार्यक्रमको अध्यक्षता नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डीका प्रसाद भट्टले गरेका थिए । प्रमुख अतिथि निगम सञ्चालक समिति अध्यक्ष डा. रामप्रसाद घिमिरेले कार्यक्रमको समुदघाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि घिमिरेले रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले यस्ता कार्यक्रमहरु निरन्तर भइरहनुपर्नेमा जोड दिए भने निगमले यस प्रकारको रक्तदान कार्यक्रम नियमित गर्दै जाओस् भनी शुभकामना ब्यक्त गरे ।
रक्तदान कार्यक्रमका संयोजक नागेन्द्र साहले समय समयमा देखिने गरेको रगतको अभावलाई कम गर्न सबै स्वस्थ ब्यक्तिले नियमितरूपमा रक्तदान गर्न समेत आग्रह गरे ।
आयोजक निगमको तर्फबाट कार्यकारी निर्देशकले कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल पार्न सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक, रक्तदाता र स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।


