महेश प्रसाईं ‘म्याक्स बाबु’को ‘लाग्छ सरमै’ बोलको गीत सार्वजनिक
काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं ‘म्याक्स बाबु’ले नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक गर्नुभएको छ । उहाँको चर्चित गायिका रचना रिमालसँग स्वर दिएको ‘लाग्छ सरमै’ बोलको गीत दर्शक-श्रोतामाझ आएको हो ।
सिड्नीका नेपाली सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर प्रस्तुति दिँदै आउनुभएका म्याक्स बाबु कुशल परफर्मरका रूपमा समेत परिचित हुनुहुन्छ । सार्वजतिक गीत ‘लाग्छ सरमै’कै भिडियोमा नायिका गरिमा शर्मासँग उहाँले अभिनय गर्नुभएको छ । कला र सिर्जनशीलतालाई जीवन यात्रासँग जोड्दै आउनुभएका उहाँले यो सांगीतिक प्रस्तुतिले नेपाली गीत-संगीत क्षेत्र र नेपाली समुदायमा विशेषस्थान बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
युवा अवस्थामा अष्ट्रेलिया पुग्नुभएका म्याक्स बाबुले सिड्नीमा आयोजना भएका सन् १९७४ एडीदेखि हालसम्मका विभिन्न सांगीतिक कार्यक्रममा नेपालका ख्यातिप्राप्त गायक-गायिका तथा कलाकारहरूसँग दर्जनौं पटक मञ्च साझा गरिसक्नुभएको छ । गीत-संगीतसँगै हास्य क्षेत्रमा पनि सक्रिय रहँदै आउनुभएका उहाँले मह जोडीसँग समेत आफ्नो प्रस्तुति दिइसक्नुभएको छ ।
दुई दशकदेखि अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका म्याक्स बाबुले सिड्नीको आइकोनिक थिएटर, राउण्ड हाउसजस्ता ठूला इभेन्टहरूमा प्रस्तुति दिनुभएको छ । पछिल्लो समय नेपाली चलचित्र ‘पीआर’ मा समेत उहाँको अभिनय देख्न सकिन्छ । कुन्ती मोक्तान, रामकृष्ण ढकाल, शिव परियार, रचना रिमाल, समीक्षा अधिकारीलगायत चर्चित कलाकारसँग मञ्च साझा गरिसक्नुभएका म्याक्स बाबु आफ्नो नयाँ गीतले युवा पुस्तादेखि वृद्धवृद्धासम्मको मन जित्नेमा आशावादी हुनुहुन्छ ।
पूर्वी नेपालको ताप्लेजुङमा जन्मिनुभएका म्याक्स बाबु सन् २००८ मा विद्यार्थीका रूपमा अष्ट्रेलिया जानुभएको थियो । प्रारम्भिक संघर्षपछि निरन्तर मिहिनेत र आत्मविश्वासका साथ उहाँले सन् २०१५ मा सिड्नीको रकडेलमा ‘एभरेष्ट बुचरी’ स्थापना गर्नुभयो । दशकभन्दा बढी समयदेखि व्यवसाय गर्दै आउनुभएका उहाँले हालै ‘कन्ट्री फ्रेश रकडेल’ सञ्चालनमा ल्याउनुभएको छ, जसको उद्घाटन न्यू साउथ वेल्सका प्रिमियरद्वारा गरिएको थियो ।
न्यू साउथ वेल्स राज्यबाट एकै वर्षमा तीन पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली मूलका व्यक्ति बन्नुभएका उहाँको काम त्यहाँको राष्ट्रिय मिडिया ‘द लिडर’मा समेत फिचर भएको छ । व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आउनुभएका म्याक्स बाबु ‘भिजन फर मोटिभेसन’ नामक गैर-नाफामूलक संस्थाका संस्थापकसमेत हुनुहुन्छ, जसले नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हितमा विविध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
म्याक्स बाबुको यात्रा संगीत र अभिनयमा मात्र सीमित छैन । उद्यमशीलता र कलाकारितालाई सन्तुलित रूपमा अघि बढाउँदै आउनुभएका उहाँ व्यावसायिक सफलतासँगै सांस्कृतिक पहिचान जोगाउने अभियन्ताका रूपमा पनि चिनिनुहुन्छ । मञ्चमा होस् वा व्यवसायमा, उहाँको प्रस्तुतिमा आत्मविश्वास, मिहिनेत र नेपालीपनको स्पष्ट झल्को देखिन्छ, जसले उहाँलाई उद्यमी-कलाकारको प्रेरणादायी पहिचान दिलाएको छ ।


