महालक्ष्मी विकास बैंकको २४ औं साधारण सभा सम्पन्न, १०.३७% लाभांश पारित
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सोमबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा आयोजित सभा लाभांश वितरण गर्ने निर्णय पारित गर्दै साधारण सभा सम्पन्न भएको हो । सभाले १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन भएको छ।
यस अन्तर्गत ५.३७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय भएको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।
त्यस्तै सभाले आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण, नाफा बाँडफाँड, ईक्विटी परिवर्तन लगायतका वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा बैंकका वित्तीय परिसूचकहरुमा सकारात्मक सुधार देखिएको छ। आधार दर ९.३९ प्रतिशतबाट घटेर ६.९४ प्रतिशत पुगेको छ भने पुँजीकोष पर्याप्यता अनुपात १४.९३ प्रतिशतबाट १७.०६ प्रतिशत पुगेको छ। बैंकको निक्षेप रकम ५६.२२ अर्ब र कर्जा तथा सापटी ४७.२१ अर्ब पुगेको छ।
सभाले बैंक सञ्चालक समितिको निर्वाचन पनि सम्पन्न गरेको छ। सभाबाट संस्थापक समूह (क)बाट राजेश उपाध्याय, संजय गिरी, सागर मल्ल र सर्वसाधारण समूह (ख) बाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल, शालिक राम अर्याल निर्वाचित भएका छन्।
नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकमा राजेश उपाध्यायलाई अध्यक्ष चयन गरिएको छ।
सभाका अध्यक्ष राजेश उपाध्यायले सेयरधनीहरूबाट प्राप्त सुझावलाई आत्मसात गर्दै ग्राहक सन्तुष्टि र लगानीको उचित प्रतिफल सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरे।


