गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपद्वारा पोखरा स्ट्रिट फेस्टिभलमा स्वच्छ वातावरण अभियान
काठमाडौं । पोखरालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सम्मान गर्दै गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपले २७ औँ पोखरा स्ट्रिट फेस्टिभलको अवसरमा स्वच्छ वातावरण अभियान सञ्चालन गरेका छन्।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रा.लि.को सहकार्यमा सञ्चालन गरिएको यस अभियानको उद्देश्य महोत्सव अवधिमा उत्पन्न फोहोरलाई व्यवस्थित गरी पोखराको प्राकृतिक सौन्दर्य र स्वच्छ पहिचान जोगाउनु रहेको छ।
पर्यटन र प्राकृतिक सौन्दर्यका लागि चर्चित पोखरामा ठूला सार्वजनिक महोत्सवका क्रममा उल्लेख्य मात्रामा फोहोर संकलन हुने भएकाले दिगो फोहोर व्यवस्थापन आवश्यक रहेको आयोजक पक्षको भनाइ छ।
यही आवश्यकतालाई मध्यनजर गर्दै गोर्खा ब्रुअरीले बोतल र क्यान, पुनः प्रयोगयोग्य तथा सुख्खा फोहोरका लागि छुट्टाछुट्टै डस्टबिनहरू उपलब्ध गराएको थियो, जसलाई लेकसाइड क्षेत्रका विभिन्न स्थानमा राखिएको थियो।
संकलित फोहोरलाई भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रा.लि.ले वातावरणमैत्री र जिम्मेवार ढंगले प्रशोधन गर्ने व्यवस्था गरेको छ भने रेबानले स्थानीय रेष्टुरेन्ट तथा बारहरूलाई अभियानमा सक्रिय रूपमा सहभागी गराएको छ।
सो अवसरमा गोर्खा ब्रुअरीले पोखरा स्वच्छ र सुन्दर सहरका रूपमा चिनिनुपर्नेमा जोड दिँदै, यस्तो पहलले महोत्सव अवधिमात्र होइन, भविष्यमा पनि स्वच्छ पोखरा निर्माणमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
महोत्सवसँगै सीमित नरही, यस अभियानलाई पोखरामा जिम्मेवार फोहोर व्यवस्थापन अभ्यास प्रवर्द्धन गर्ने, जनचेतना अभिवृद्धि गर्ने र दिगो पर्यटनलाई सघाउने दीर्घकालीन सहकार्यको रूपमा अघि बढाइएको जनाइएको छ।
यो अभियान वातावरणीय दिगोपन र सामुदायिक हितप्रति गोर्खा ब्रुअरीको निरन्तर प्रतिबद्धताको उदाहरण भएको बताइन्छ । यसले नेपालभरि आयोजना हुने उत्सवहरूलाई जिम्मेवार ढंगले मनाउन प्रेरणा दिने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।


