डा. सुनिल शर्माद्वारा जनता माध्यमिक विद्यालयलाई २ करोड सहयोग
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयलाई नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले २ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । उनले उक्त सहयोग आफ्ना माता–पिताको नाममा विद्यालयको शैक्षिक विकासका लागि प्रदान गरेका हुन् ।
आर्थिक सहयोगसँगै विद्यालयको नाम परिवर्तन गरी अब श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय राखिने भएको छ । शुक्रबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा डा. शर्माले विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा दीर्घकालीन विकासका लागि उक्त रकम उपयोग गरिने जानकारी दिए ।
शिक्षा ऐनमा व्यवस्था भए अनुसार माध्यमिक विद्यालयलाई २ करोड भन्दा बढी नगद वा अचल सम्पत्ति प्रदान गर्ने दाताको नाममा उनीहरुले चाहे अनुसार विद्यालयको नाम संशोधन गर्ने प्रावधान रहेको छ । सोही व्यवस्था अनुसार विद्यालयको नाम संशोधन गरिएको व्यवस्थापन समितिले जनाएको छ ।
कार्यक्रमकै क्रममा डा. शर्माले विद्यालय परिसरमा निर्माण गरिने नयाँ भवनको शिलान्याससमेत गरेका छन् । करिब ३ करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त भवन दुईतले रहनेछ भने त्यसमा १० वटा कक्षाकोठा रहने जनाइएको छ । नयाँ भवन निर्माणपछि पठन–पाठनको वातावरण थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, डा. शर्माले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि करिब १ करोड रुपैयाँ बराबरको शैक्षिक छात्रवृत्ति कार्यक्रम घोषणा गरेका छन् । आर्थिक अभावका कारण गरिब तथा विपन्न विद्यार्थीहरुले पढाईबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको उनले बताए ।
स्थानीयस्तरमा शिक्षाको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने यस सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार हुनुका साथै विद्यार्थी, अभिभावक र स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह भएको विद्यालय प्रशासनले जनाएको छ ।


