सन् २०२५ मा १५ लाख नेपाली बाहिरिँदा १० लाख विदेशी पर्यटकको आगमन
काठमाडौँ । सन् २०२५ मा नेपालबाट १५ लाख २३ हजार ३३३ जना नेपाली नागरिक विभिन्न प्रयोजनका लागि विदेशिएका छन्। अध्यागमन विभागका अनुसार अध्ययन, वैदेशिक रोजगारी, भ्रमण तथा व्यवसायका लागि नेपालीहरू बाहिरिने क्रम बढेको हो।
सोही अवधिमा नेपाल भित्रिने नेपालीहरूको सङ्ख्या १३ लाख १३ हजार ७४६ रहेको विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालले जानकारी दिए।
पर्यटन क्षेत्रका लागि सन् २०२५ उत्साहजनक देखिएको छ। यस वर्ष १० लाख १५ हजार ५७१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल भ्रमणमा आएका पर्यटकमध्ये ९ लाख ८२ हजार ५६१ जना सोही अवधिमा आफ्नो देश फर्किसकेका छन्।
पछिल्लो समय नेपालीहरू अध्ययन र श्रमसँगै पर्यटकीय उद्देश्यले पनि विदेश जाने प्रवृत्ति बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।


