सिटिजन्स क्यापिटल ‘एएमसी क्वालिटी ३ प्लस’ रेटिङ्गमा स्तरोन्नति
काठमाडौँ । नेपालको क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले सामूहिक लगानी कोष व्यवस्थापकको रूपमा कार्य गर्दै आइरहेको सिटिजन्स क्यापिटल लिमिटेडलाई ‘एएमसी क्वालिटी ३ प्लस’ (AMC3+) मा स्तरोन्नति गरेको छ । कम्पनीले यसअघिको ‘एएमसी क्वालिटी ३’ रेटिङ्गलाई पुनरावलोकन गरी ‘एएमसी क्वालिटी ३ प्लस’ मा स्तरोन्नति गरी सिटिजन्स क्यापिटलको स्तर बृद्धि पुष्टि गरेको हो ।
इक्रा नेपालले सिटिजन्स क्यापिटल लिमिटेडको सुदृढ व्यवस्थापन संरचना, प्रभावकारी जोखिम व्यवस्थापन, सन्तुलित आन्तरिक नियन्त्रण व्यवस्था तथा लगानी व्यवस्थापन क्षमतामा आएको निरन्तर सुधारलाई आधार मानी उक्त रेटिङ्ग प्रदान गरेको हो ।
उक्त रेटिङ्गले कम्पनीको सञ्चालन स्थायित्व, सुशासन अभ्यास, अल्पकालिन तथा दीर्घकालिन लगानी रणनिति, सामूहिक लगानी कोषका योजनाहरूले प्रदान गरेको प्रतिफल र दीर्घकालिन व्यवसायिक सम्भावनालाई सकारात्मक रूपमा प्रतिबिम्बित गर्दछ ।
सिटिजन्स क्यापिटल लिमिटेडले नेपालको पुँजी बजारमा व्यवसायिक र विश्वसनीय सेवा प्रदान गर्दै आएको छ ।
उक्त कम्पनीले योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार सेवा र संस्थागत परामर्श सेवा जस्ता विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।
इक्रा नेपालबाट AMC3+ प्राप्त हुनु कम्पनीको सेवा गुणस्तर, व्यवसायिक दक्षता तथा लगानीकर्ताप्रतिको प्रतिबद्धताको महत्त्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ ।
कम्पनीले आगामी दिनहरूमा पनि पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधि तथा लगानीमैत्री सेवाहरूसँगै लगानीकर्ताहरूलाई विश्वसनीय तथा प्रतिस्पर्धी सेवाहरू प्रदान गर्दै लगिने छ जानकारी दिएको छ ।
साथै, कम्पनीले निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका योजनाहरू सञ्चालन गरिनुका साथै हाल सञ्चालनमा रहेका योजनाहरूमा र लगानी व्यवस्थापनमा उच्च प्रतिफल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


