होटल पार्क ल्याण्डले आइपिओ निष्काशन गर्ने, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक
काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेड र होटल पार्क ल्याण्ड लिमिटेडबीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आज डिल्लीबजार, काठमाडौँमा आयोजित एक समारोहका बीच दुवै संस्थाबीच उक्त सम्झौता भएको हो ।
सम्झौतामा होटल पार्क ल्याण्ड लिमिटेडका तर्फबाट अध्यक्ष शरदकुमार पाण्डे र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि सिटिजन्स क्यापिटल लिमिटेडले होटल पार्क ल्याण्ड लिमिटेडको साधारण सेयर सार्वजनिक निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ ।
विगत १८ वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएको होटल पार्क ल्याण्ड लिमिटेड चितवनको सौराहामा ३२ कट्ठा क्षेत्रफलमा अवस्थित छ । हाल होटलमा ३२ वटा कोठा सञ्चालनमा रहेका छन् । सौराहा गैडाचोकबाट करिब ३५० मिटर दूरीमा रहेको यस होटललाई आगामी दिनमा विस्तार गर्ने लक्ष्य लिइएको छ ।
होटल व्यवस्थापनले क्षमता विस्तार गर्दै ४४ कट्ठा क्षेत्रफलमा १०५ कोठा निर्माण गरी होटललाई चारतारे स्तरमा रूपान्तरण गर्ने योजना रहेको जनाएको छ ।
उक्त योजनाबाट पर्यटन प्रवर्द्धनसँगै स्थानीय रोजगारी सिर्जनामा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

