एनसीएचएलको १७औँ वार्षिकोत्सव सम्पन्न, नयाँ डिजिटल उत्पादनहरू सार्वजनिक
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १७औँ वार्षिकोत्सव ८ पुस २०८२ का दिन एक औपचारिक कार्यक्रमका बीच सम्पन्न गरेको छ । कार्यक्रम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
वार्षिकोत्सव कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसीएचएलका पूर्व अध्यक्षहरू, वर्तमान अध्यक्ष तथा सञ्चालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
साथै अर्थ मन्त्रालय, नेपाल सरकारका विभिन्न निकाय, अध्यागमन विभाग, नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरू, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (पीएसपी), भुक्तानी सेवा सञ्चालक (पीएसओ) लगायत सरोकारवालाको पनि विशेष सहभागिता रहेको थियो ।
नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको नेतृत्वमा ८ पुस २०६५ मा स्थापना भएको एनसीएचएलले प्रारम्भिक चरणमा म्यानुअल चेक क्लियरिङ्गलाई डिजिटाइज गर्ने उद्देश्यले २०६८ मा NCHL–ECC प्रणाली सञ्चालनमा ल्याएको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकको रणनीतिअनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू क्रमशः कार्यान्वयन गर्दै आएको छ ।
१७ वर्षको यात्रामा एनसीएचएलले NCHL–ECC, NCHL–IPS, Retail Payment Switch, connectIPS, CORPORATEPAY, connectRTGS, National Payments Interface (NPI), NEPALPAY QR, NPIx/EFT Card Switch लगायतका राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याइसकेको छ । हाल नेशनल पेमेन्ट स्विच (NPS) अन्तर्गत नेशनल कार्ड स्विच तथा NEPALPAY कार्डको व्यावसायिक प्रयोगसमेत सुरु गरिएको छ ।
वार्षिकोत्सव समारोहमा एनसीएचएलमा १० वर्ष सेवा पूरा गरेका हेड–पेमेन्ट सिस्टम छवी सापकोटालाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो । साथै, एनसीएचएलका पूर्व अध्यक्ष अनिल केशरी शाह र अशोक शम्शेर ज.ब.रा.लाई संस्थाको स्थापना र विकासमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै डेपुटी गभर्नर मिश्रबाट विशेष सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका क्रममा एनसीएचएलले विभिन्न नवीन डिजिटल प्रोडक्ट तथा सोलुसनहरू सार्वजनिक गरेको छ । सिद्धार्थ बैंकसँगको सहकार्यमा रिटेल ग्राहकका लागि Digital Mobile Banking Solution, नबिल बैंकसँग CORPORATEPAY 2.0, माछापुच्छ्रे बैंकसँग Cards Central System तथा स्मार्ट चोइस टेक्नोलोजीसँग Third Parties Net Settlement समाधानको अनावरण गरिएको हो ।
एनसीएचएलले वार्षिकोत्सवको अवसरमा १३ विधामा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, सरकारी तथा गैर–बैंक संस्थालाई “Excellence in Digital Transaction” अवार्डबाट सम्मान गरेको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीतर्फ क्रमशः राष्ट्रिय वाणिज्य बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई “Excellence in NEPALPAY QR Transaction” अवार्ड प्रदान गरिएको छ ।
त्यसैगरी सिद्धार्थ बैंकलाई “Excellence in EFT Card Services”, ग्लोबल आइएमई बैंकलाई “Excellence in Alternate Digital Channel” र नबिल बैंकलाई “Excellence in Digitizing Businesses with CorporatePAY” अवार्ड प्रदान गरिएको छ । सरकारी कारोबार डिजिटाइजेसनमा विशेष योगदान पुर्याएको भन्दै राष्ट्रिय वाणिज्य बैंक र ई–भिसाको अनलाइन भुक्तानीका लागि अन्तर्राष्ट्रिय कार्ड पेमेन्ट गेटवे सक्षम बनाएको योगदानको कदरस्वरूप गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागलाई Special Recognition अवार्ड प्रदान गरिएको छ ।
हाल एनसीएचएलमा ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा र १०० भन्दा बढी गैर–बैंक संस्था प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । एनसीएचएलका प्रणालीमार्फत गत आर्थिक वर्षमा २१ करोड १२ लाखभन्दा बढी कारोबार फछ्र्यौट भई कुल रु. १८६ खर्बभन्दा बढीको भुक्तानी सेटलमेन्ट भएको कम्पनीले जनाएको छ । अघिल्लो वर्षको तुलनामा भुक्तानी कारोबार संख्यामा ६७ प्रतिशत र कारोबार रकममा १९ प्रतिशत वृद्धि भएको हो ।
एनसीएचएलले आगामी दिनमा पनि डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, सुलभ र समावेशी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

