सप्तगण्डकी वहुउद्देश्यीय आयोजना निर्माण अगाडि बढाउनु पर्छ: मन्त्री कुलमान घिसिङ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा हुने कटान, चितवन, नवलपरासी क्षेत्रको समग्र विकासका लागि २२५ मेगावाटको सप्तगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गरिनुपर्ने बताएका छन् ।
चितवन उद्योग वाणिज्य संघले शनिवार नारायणघाटमा गरेको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले धार्मिक रुपमा महत्त्वपूर्ण मानिने देवघाट क्षेत्रलाई नडुबाउने गरी सप्तगण्डकी जलविद्युत् आयोजना बनाएर त्यसभन्दा माथिल्लो तटीय क्षेत्रमा बन्ने बूढीगण्डकी, तनहुँजस्ता जलाशययुक्त आयोजनाको लाभ लिनुपर्ने उल्लेख गरे ।
‘नदीबाट हुने कटान तथा डुबान दीर्घकालीन रुपमा नियन्त्रणका लाथि माथिल्लो तटीय क्षेत्रमा जलाशययुक्त आयोजना निर्माण गरी एकीकृत नदी बेसिन व्यवस्थापन योजना अगाडि बढाउनु पर्छ, नारायणी नदीका सहायक नदीहरू सेती, बूढीगण्डकी‚ कालीगण्डकीमा बन्ने जलाशययुक्त आयोजनामा वर्षायामको पानी जम्मा गर्ने र हिउँदमा नियन्त्रित पानी पाउने हुँदा बाढी नियन्त्रण गर्ने, कृषि, जलयातायातमार्फत लाभ लिन सकिन्छ’ घिसिङले भने ।
तर, बाँधको उचाइ घटाएर धाममा पुग्ने क्षति न्यूनीकरण गरी आयोजना अगाडि बढाउन सकिने घिसिङले उल्लेख गरे । देवघाटमा जलाशय बनाएर विद्युत् उत्पादन र पानीबाट चितवन र नवलपरासीमा सयौं हेक्टरमा सिँचाइ उपलब्ध गराउन सकिनेछ । ‘सप्तगण्डकी आयोजनाको पहिचान धैरै पहिले भएको थियो, बाँधको उचाइ केही घटाएर देवघाट क्षेत्रलाई नडुब्ने तथा अझै सुन्दर बनाउने गरी आयोजनाको विकास गर्न सक्छौं, उक्त आयोजना निर्माण गर्न सकिएमा वहुउद्देश्यीय लाभ लिन प्राप्त हुन्छ, यसो गर्न सके यस क्षेत्रको विकासमा अर्को माइलस्टोन हुनेछ ।’
चितवन, तनहुँ र नवलपरासीको सिमानामा बग्ने नारायणी नदीमा सप्तगण्डकी बहुउद्देश्यीय जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को सहायतामा सन् १९८५ मा गरिएको थियो । आयोजनाको बाँध त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटभन्दा करीब एक किलोमीटर तल बन्नेछ । अध्ययनबाट धार्मिक महत्त्वको देवघाटधाम डुब्ने देखिएको थियो ।
विश्वका कैयौं मुलुकले कुनै एउटा क्षेत्रलाई नमुना शहरको रुपमा विकास गरी त्यसको अनुशरण अन्य ठाउँमा गरेको उदाहरण दिँदै मन्त्री घिसिङले प्रचुर सम्भावना बोकेको भरतपुरलाई आधुनिक शहरको रुपमा विकास गरेर जानुपर्ने बताए । उनले भरतपुर, बुटवल र पोखरालाई हरित त्रिभुज आर्थिक क्षेत्रको रुपमा विकास गर्न विद्युत् प्रसारण तथा वितरण लाइन सुधार एवम् विस्तारमा ठूलो लगानी हुन लागेको जानकारी दिए ।
संघका तर्फबाट देवघाट क्षेत्रका धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने, चितवनमा भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्ने, नदी कटान रोक्न तटबन्द निर्माण गर्नुपर्ने, शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण छिट्टो अगाडि बढाउनुपर्नेलगायतका माग राखिएको थियो ।

