स्वास्थ्य बिमा सुधारका लागि सरोकारवालासँग स्वास्थ्यमन्त्रीको छलफल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमा सुधार गर्नका लागि गर्नुपर्ने पहलबारे सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेकी छन् ।
मन्त्रालयमा शुक्रबार उनले सामाजिक सुरक्षा कोष र स्वास्थ्य बिमा बोर्डका पदाधिकारीसँग स्वास्थ्य बिमा सुधारका लागि गर्नुपर्ने पहलका सम्बन्धमा छलफल गरेकी हुन् ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले छलफलमा सामाजिक सुरक्षा कोषद्वारा सञ्चालित कार्यक्रमको असल अभ्यास र समस्याबारे छलफल भएको जानकारी दिए ।
“नेपालमा स्वास्थ्य बिमाको पहुँच र गुणस्तर बढाउन मन्त्रालय, कोष र बोर्डबीच सहकार्यका विषयमा गहन छलफल भएको छ । जसले स्वास्थ्य बिमामा थप सुधारका लागि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ”, उनले भने ।
छलफलमा मन्त्रालयका सचिवद्वय डिल्लीराम शर्मा र डा. विकास देवकोटा, स्वास्थ्य सेवा विभागबाट महानिर्देशक डा. केशरबहादुर ढकाल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेलगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थिति थियो ।

