तेस्रोलिंगीको नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण, सीमान्तकृत समुदायको संयुक्त उदय
काठमाडौँ । नेपालको निर्वाचन इतिहासमै पहिलोपटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू, अपाङ्गता भएका व्यक्ति, र मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरू एकैठाउँ उभिएर नयाँ राजनीतिक शक्ति निर्माण गरेका छन्।
दशकौँदेखि छायामा पारिएका आवाजहरू लोकतान्त्रिक निर्णय–प्रक्रियाको केन्द्रतिर निर्भीक रूपमा अघि बढ्ने घोषणा समावेशी समाजवादी पार्टीले गरेको छ। यो केवल नयाँ राजनीतिक दल गठनको कुरा मात्र होइन, दशकौँसम्म बहिष्करण सहनु परेका समुदायहरूको सामूहिक घोषणा हो।
पार्टीका सल्लाहकार एवं संरक्षक सुनिल बाबु पन्तका अनुसार, यी समुदायहरूले नेपालको लोकतान्त्रिक प्रणालीमा अझै पनि दृढ विश्वास राख्छन्। उनीहरूको सहभागिताले नेपालको राजनीतिक परिवेशमा जीवन्त अनुभव, सहनशीलता र इमानदारिताको शक्ति थपिदिएको छ।
पन्तले समावेशी समाजवादी पार्टीको सल्लाहकार तथा संरक्षकका रूपमा सेवा गर्न पाउँदा आफूलाई सम्मानित महसुस हुने बताएका छन्। उनी यस पार्टीका नेता नभए पनि, नेपालका लागि नयाँ र साहसी दिशा तय गर्ने यात्रामा आफ्नो मार्गदर्शन, अनुभव र ऐक्यबद्धता दृढ रूपमा अर्पण गर्दै साथमा उभिएका छन्।
तेस्रोलिंगी अधिकारकर्मी तथा लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु (चञ्चला) सर्वसम्मत रूपमा पार्टी अध्यक्ष निर्वाचित भएकी छन्। चञ्चलाको नेतृत्व मुख्यधारको राजनीतिको नजरअन्दाजबाट बच्न बाध्य समुदायहरूको शक्ति, सम्मान र अस्तित्वको प्रतिमूर्तिका रूपमा प्रस्तुत भएको पन्तले उल्लेख गरेका छन्।
पच्चीस वर्षदेखि नेपालको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार, पहिचान र गरिमाको उन्नतिका लागि निरन्तर संलग्न पन्तले विविध लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणहरूको कानुनी पहिचान सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान दिएका छन्।
नेपालमा समलिङ्गी, तेस्राेलिंगी, अन्तरलिंगी, दुइलिंगी (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) व्यक्तिहरूको पहिचान सहितको अधिकार माग गर्दै पन्तले पहिलो पटक सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। पन्तको रिटमा २०६४ पुस ६ गते सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश नै यो समुदायले पहिचान पाउने महत्त्वपूर्ण आधार बनेको हो।
२०६४ मा सम्पन्न संविधानसभामा प्रतिनिधित्व गर्ने एसियाका पहिलो समलिङ्गी सांसद पन्तको अभिमुखीकरणले २०७२ असोज ३ गते जारी संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार उल्लेख गरिनु ऐतिहासिक उपलब्धि भएको स्मरण गरिन्छ।
उनै पन्तको संरक्षकत्वमा उदय भएको यो नयाँ राजनीतिक दल आजको उपलब्धिलाई निरन्तर सङ्घर्षको विस्तारित यात्रा मान्दछ, जसले अब राष्ट्रिय शासन, न्याय र नीतिगत रूपान्तरणसम्म आफ्नो दायरा बढाएको छ। समावेशी समाजवादी पार्टीको स्थापना केवल प्रतिनिधित्वको लागि नभई नेपालको राजनीतिक तथा विकासको दिशानै पुनः परिभाषित गर्ने अभियान भएको पन्तले प्रस्ट पारेका छन्।
‘हामी एक नयाँ नेपाली विकास दर्शन प्रस्तुत गर्छौँ – मानिस र प्रकृति दुवैलाई सम्मान गर्ने, १७औँ शताब्दीको पश्चिमेली औद्योगिक संरचनाबाट आएको विनाशकारी, पितृसत्तात्मक, प्रकृति–दोहनकारी विकास मोडेललाई अस्वीकार गर्ने। भ्रष्टाचार र दण्डहीनताविरुद्ध कडा सङ्घर्ष, दिगो र सम्मानजनक रोजगारीको सिर्जना, नेपालको नाजुक वातावरणको संरक्षण र जलवायु सहनशीलता, कसैलाई पनि पछाडि नछोड्ने समावेशी राष्ट्र निर्माण, प्रतिनिधि लोकतन्त्रबाट सहभागी लोकतन्त्रतर्फको यात्रा,जहाँ नागरिक स्वयं नीतिनिर्माण र कार्यान्वयन निगरानीमा सक्रिय हुनेछन्,’यी सबै उद्देश्य पार्टीले उद्घोष गरेको छ।
समर्थन फरक छौँ भनेर नमागिने पन्तले लेखेका छन्। हामी समर्थन माग्छौँ किनभने हामी फरक छौँ भनेर होइन, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भएको नाताले पनि होइन, ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायबाट आएको नाताले पनि होइन। हामी समर्थन माग्छौँ किनभने हामी सबै नेपालीका लागि अझ राम्रो, अझ न्यायपूर्ण, जबाफदेही, दूरदर्शी शासन दिन तयार छौँ।
नेतृत्व लिङ्गबाट निर्धारित नहुने स्पष्ट गर्दै पन्तले भने,’पुरुष भएर होइन, महिला भएर होइन, तेस्रोलिंगी भएर पनि होइन। नेतृत्व क्षमता, इमानदारिता, दृष्टि र जिम्मेवारीले परिभाषित हुन्छ। यिनै मूल्यहरू समावेशी समाजवादी पार्टीको मूल आत्मा भएर लागेको छ।
पन्तले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू, अपाङ्गता भएका व्यक्ति, मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला, युवा, किसान–श्रमिक, बौद्धिक, र न्याय–गरिमा–समावेशितामा विश्वास गर्ने हरेक नेपालीलाई यस आन्दोलनमा सहभागी हुन आह्वान गरे। प्रश्न गर्न, चुनौती दिन, अझ बलियो बनाउन उनले आग्रह गरे।
इमानदार, समावेशी, प्रकृतिसँग सहअस्तित्व रहने र भविष्यमुखी नेपाल निर्माण गर्न पन्तले आव्हान गरे। “यो केवल एक राजनीतिक दलको प्रारम्भ मात्र होइन, न्यायपूर्ण र समावेशी नेपालतर्फको सामूहिक राष्ट्रिय यात्राको प्रारम्भ हो,” पन्तले उद्घोष गरे।
समावेशी समाजवादी पार्टीले निर्वाचन आयोगमा आगामी फागुन २१ गते हुने चुनावमा भाग लिन आइतबार दल दर्ता गरेको छ। राजनीतिक दलको मान्यता पाएकै दिन समावेशी पार्टीले निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले राजनीतिक दल दर्ता भएको दिनलाई ऐतिहासिक दिनको रूपमा लिनुपर्ने बताएका छन्। “नेपालको इतिहास रचिरहेको दिन हो,” समावेशी समाजवादी पार्टीका उपाध्यक्ष पवन राई (बाबुधुमी)ले भने, “खुसी छौँ। अब आउने चुनावमा भाग लिन उत्साहित छौँ।”
देश, समाज र राज्यप्रति न्याय दिने आत्मविश्वासका साथ अघि बढ्ने बताउँदै उनले भने, “हामीलाई धेरै भाषण गर्न आउँदैन। हामी आफ्नो कर्ममा विश्वास गर्छौँ। विश्वास छ-देश, समाज, राज्य र समुदायलाई न्याय दिन सक्छौँ। यही आत्मविश्वासका साथ अघि बढ्नेछौँ।”
एजेन्डा पूरा गर्ने मात्र हुने पनि उनले सुनाए। हरेक विविधता र समाजमा पिछडिएका व्यक्तिहरूलाई समेट्ने स्पष्ट गर्दै उपाध्यक्ष राईले क्षमता भएको व्यक्ति अगाडि आउनुपर्ने बताए। पहिचानको आधारमा पद–पावर दुरुपयोग गरी भइरहेका भ्रष्टाचार अन्त्य गर्ने पहिलो भूमिका हुने उनको भनाइ छ।
दलितदेखि अपाङ्गता भएका व्यक्तिहरू, ग्रामीण क्षेत्रका नागरिकलगायत हरेक पछाडि पारिएका समुदायलाई समेट्ने उद्देश्य भएको उनले जनाए। देशभर समुदायका व्यक्तिहरू पार्टीमा जोडिन थालेको र यो क्रम बढिरहेको उनले बताए। “हाम्रो पार्टीमा आबद्ध भएर समानताको लडाइँमा अभियानदाता बन्न आग्रह गर्दछु,” उनले भने।
समावेशी समाजवादी पार्टीकी सचिव सञ्जीवनी लामा (सन्ध्या) फागुन २१ गते हुने चुनावमा सहभागी हुन उत्साहित छिन्। उनले एकजुट भएर अघि बढ्ने विश्वास दिलाउँदै भनिन्, “एमाले, कांग्रेस, माओवादीलाई धेरै पटक भोट दिएर हेर्नुभयो। एक पटक हाम्रो पार्टीलाई पनि साथ दिनुहोस्। हामीसँग दृष्टि छ, योजना छ, भिजन छ। हामी पनि यो देशका नागरिक हौँ, हामीलाई साथ र समर्थन दिनुहोस्।”
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्रै पनि विविधता रहेको बताउँदै समावेशी समाजवादी पार्टीकी प्रवक्ता प्रतीक्षा चापागाईले अपाङ्गता, जातीयता, भौगोलिक विविधतासहितका भेदहरूलाई लामो समयसम्म ओझेलमा पारिएको उल्लेख गरिन्। देशको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउँदै उनले भनिन्, “हामी जस्तै सीमान्तकृत भुक्तभोगी छौँ। हामी सबै एकजुट होऔँ। देश बदल्नुपर्छ, उन्नति गर्नुपर्छ। एकअर्कालाई सहयोग गर्यौँ भने देशको विकास हुन्छ। हाम्रो समावेशी समाजवादी पार्टीलाई सहयोग गर्नुहोस्।”
प्रेस विज्ञप्ति
इतिहास रच्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका नागरिक र मनोरञ्जन व्यवसायमा संलग्न महिलाहरूबाट नयाँ राजनीतिक यात्रा
नेपालको निर्वाचन इतिहासमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, अपाङ्गता भएका नागरिक तथा मनोरञ्जन व्यवसायमा संलग्न महिलाहरूले किनाराबाट केन्द्रतिर कदम बढाउँदै राजनीतिक मैदानमा उभिने ऐतिहासिक निर्णय गरेका छौँ।
हामी नेपालका समान अधिकारयुक्त नागरिक हौँ—अरू सबैजस्तै हाम्रा पनि सपना छन्, देशलाई योगदान गर्ने इच्छा छ, र रूपान्तरणकारी परिवर्तन ल्याउने क्षमतामा पूर्ण विश्वास छ।
यस ऐतिहासिक यात्राको अग्रभागमा रहेकी छन्— तेस्रोलिंगी अधिकारकर्मी तथा लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु (चञ्चला)
जसलाई राष्ट्रिय भेलाले सर्वसम्मत रूपमा समावेशी समाजवादी पार्टीको अध्यक्ष चयन गरेको हो। त्यसैगरी, पहिलो संविधानसभा सदस्य एवं लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारका अग्रणी अभियन्ता सुनिल बाबु पन्त यस दलको मूल प्रेरणा शक्ति, नीति तथा दृष्टिकोण निर्माणका मुख्य सूत्रधार रहँदै आएका छन्।
नेपालमा तेस्रोलिंगी, समलिङ्गी, अन्तरलिंगी तथा विविध पहिचानहरूको कानुनी मान्यता स्थापना गर्न निर्णायक नेतृत्व गरेका पन्तकै पहल, मार्गदर्शन र २० वर्षभन्दा बढीको अनुभवले यो दल दर्ता सम्भव भएको हो।
समावेशी समाजवादी पार्टीको दर्ता केवल अधिकारको प्रयोग मात्र होइन; यो दशकौँदेखि पितृसत्तात्मक राजनीति, संरचनागत बहिष्कार र सामाजिक बेवास्ताले थिचिएका समुदायहरूको नयाँ राजनीतिक उद्घोष हो।
हामी दल खोल्दैछौँ केवल अरूले नसमेटेको कारणले होइन, वा “हामीसँग पनि दर्ता गर्ने अधिकार छ” भनेर मात्र पनि होइन— हामीसँग देशलाई नयाँ दिशामा लैजाने दृष्टि, योजना र विकल्प छ।
हाम्रो राजनीतिक प्रवेशका आधारहरू
पितृसत्तात्मक राजनीति, विनाशकारी विकास मोडेल, इमानदारीको अभाव र पुरानै सोचले देशलाई आज जुन सङ्कटमा पुर्याएको छ—त्यसको व्यवहारिक विकल्प हामी प्रस्तुत गर्छौँ।
भ्रष्टाचार उन्मूलन, रोजगारी सिर्जना, वातावरण संरक्षण र सबैका लागि समावेशी राष्ट्र निर्माण हाम्रो मुख्य लक्ष्य हो।
हामी मानव–केन्द्रित मात्र होइन, सम्पूर्ण प्रकृति–केन्द्रित स्थायी विकास दर्शनमा विश्वास गर्छौँ।
चीन र भारतले पछ्याइरहेको, पितृसत्तात्मक पश्चिमी १७औँ शताब्दीको प्रकृति-विनाशकारी विकास मोडेललाई त्यागेर मानव र प्रकृतिको मेलमिलाप सुदृढ गर्ने नवीन ‘नेपाली विकास दृष्टिकोण’ प्रस्ताव गर्छौँ।
हाम्रो राजनीति केवल प्रतिनिधित्व देखाउने अभ्यास होइन—हामी देशलाई राम्रो, न्यायपूर्ण र भविष्य–उन्मुख बनाउन आएका छौँ।
लोकतन्त्रको नयाँ दिशा
हामी प्रतिनिधिमूलक लोकतन्त्रबाट क्रमशः सहभागी लोकतन्त्रतर्फ लैजान चाहन्छौँ— जहाँ नागरिकहरू केवल भोट हाल्ने मात्र होइन, नीतिनिर्माण र कार्यक्रम कार्यान्वयनमा प्रत्यक्ष सहभागी हुनेछन्।
हामीलाई विश्वास छ—सहभागी लोकतन्त्र नै भ्रष्टाचार, दण्डहीनता र राजनीतिक दादागिरी अन्त्य गर्ने वास्तविक आधार हो।
हाम्रो प्रतिबद्धता
हामीलाई “भिन्न छौँ” भनेर मात्र भोट नदिनुहोस्।
हामी भिन्न परिणाम दिन सक्छौँ भनेर भोट दिनुहोस्।
हामी यहाँ परीक्षा दिन आएका छौँ— हाम्रो काम राम्रो भयो भने स्विकारिन, राम्रो भएन भने अस्वीकारिन पूर्ण रूपमा तयार छौँ।
पुरुष भएर मात्र नेता राम्रो हुँदैन; महिला भएर मात्र पनि हुँदैन; तेस्रोलिंगी भएर मात्र त झनै हुँदैन।
राम्रो राजनीतिका आधार—क्षमता, इमानदारी, दूरदृष्टि र उत्तरदायित्व हुन्।
हामी यही मूल्य बोकेर अघि बढेका छौँ।
हाम्रो आह्वान
देशभरका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, मनोरञ्जन व्यवसायमा संलग्न महिलाहरू, युवा, किसान, मजदुर, बुद्धिजीवी तथा सबै सचेत नागरिकहरूलाई—निर्भीक रूपमा हाम्रो अभियानमा सहभागी हुनुहोस्।
हामीलाई प्रश्न, आलोचना र मार्गदर्शन गर्नुहोस्।
र नयाँ नेपालको यात्रामा हातेमालो गरेर अघि बढ्नुहोस्।
यो केवल हाम्रो दलको यात्रा होइन—समावेशी, इमानदार, प्रकृति–मैत्री, न्यायपूर्ण र भविष्य–मुखी नेपालको सामूहिक यात्रा हो।
मिति: २०८२ मंसिर १४ गते
मनिन्द्र सिंह दनुवार
महासचिव
समावेशी समाजवादी पार्टी

