नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा रु. १ करोड ५० लाखको सहयोग
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहबीच कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई, सञ्चालक कमलेश कुमार अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त रकमको चेक अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।
गत भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शन तथा आन्दोलनका क्रममा देशभरका सार्वजनिक भौतिक संरचनामा परेको क्षति पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका कार्यमा टेवा पुग्ने उद्देश्यले नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरेको कम्पनीले जनाएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष संघईले नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाज उपयोगी गतिविधिहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै सार्वजनिक संरचनामा परेको क्षतिको पुनर्निर्माणमा योगदान दिन पाउनु कम्पनीका लागि गर्वको विषय भएको बताए।
उनले आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक गतिविधिमा सहभागी हुन कम्पनी तत्पर रहने प्रतिबद्धता जनाए।
अर्थमन्त्री खनालले नेपाल लाइफको योगदानप्रति धन्यवाद व्यक्त गर्दै पुनर्निर्माण तथा पूर्वाधार विकासमा निजी क्षेत्रको सहयोग महत्वपूर्ण हुने बताएका छन्।
उनले यस्तो प्रकारको सहकार्यले सरकारका विकास कार्यक्रमहरू सफल रूपमा अगाडि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

