स्मार्ट ग्रोथले देसब्यापी वित्तीय साक्षरता गर्ने, के–के कार्यक्रम हुन्छन्?
काठमाडौं । स्मार्ट ग्रोथ भेन्चर्सले देसब्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सुरु गर्ने भएको छ। स्मार्टग्रोथले एक विज्ञप्ति जारी गर्दै आगामी मङ्सिर १५ गतेदेखि यो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
यस कार्यक्रमको मुख्य उद्देश्य नेपाली नागरिकलाई बचत, लगानी, खर्च व्यवस्थापन, र दीर्घकालीन धन सिर्जनाका विषयमा व्यावहारिक र सरल ज्ञान दिने बताइएको छ। नेपालमा वित्तीय शिक्षाको आवश्यकता बढेकाले जटिल विषयलाई सरल भाषामा बुझाइने भनिएको छ।
यसबाट विद्यार्थी, कामकाजी पेशेवर, गृहिणी, उद्यमी र नयाँ लगानीकर्ता लगायत सबै सर्वसाधारणलाई वित्तीय ज्ञान प्राप्त हुनेछ।
संस्थाले यसअघि पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विगतमा ब्रोकर ६४ (सन सेक्युरिटिज) र ब्रोकर ४९ (अनलाइन सेक्युरिटिज) सँग सहकार्य गरी सेयर बजार प्रशिक्षण तथा समुदायस्तरको वित्तीय जागरण कार्यक्रमहरू सञ्चालन गरिसकेको विज्ञप्तिमा उल्लेख छ।
कार्यक्रमका लागि ब्रोकर ७४ (कलाश स्टक मार्केट प्राइभेट लिमिटेड) सँग मुख्य कार्यक्रम साझेदारको रूपमा सहकार्य गर्ने तयारी भइरहेको छ।
‘नेपालमा सचेत, जिम्मेवार र ज्ञानसहित लगानी गर्ने संस्कृतिको विकास गर्नु हाम्रो मुख्य लक्ष्य हो,’ संस्थाका कार्यकारी निर्देशक प्रमोद कुमार श्रेष्ठले भने।
यस कार्यक्रममा व्यक्तिगत वित्तीय योजना, लगानीका साधनहरूको बुझाइ, म्युचुअल फन्ड आधारभूत जानकारी, र लगानीकर्ताको मनोविज्ञान जस्ता प्रमुख क्षेत्रहरू समावेश गरिने बताइएको छ।

