औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक भएको बताएका छन् । ११औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले एकै प्रकारको कामका लागि धेरै प्रकारका सरकारी संरचनाले गर्दा उद्योगी व्यवसायीले झञ्झट व्यहोर्नुपरेको बताए ।
सरकारले ‘औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित मंगलबार उद्योग दिवस मनाएको हो ।
“हामीकहाँ एकै प्रकारका काम गर्ने सरकारी संस्थाहरू धेरै भए । व्यावसायिक वातावरण सहज र सरल गर्नुैपर्नेमा जटिलता र झञ्झट थपिँदै गएको छ । यो अवस्थामा एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँदै अनावश्यक संस्थाहरू कम गर्दै जानुपर्दछ,” अध्यक्ष ढकालले भने ।
भदौ २३–२४ को आन्दोलनपछि देशको आर्थिक अवस्था झनै जटिल बन्दै गएको चर्चा गर्दै ढकालले व्यक्तिगत र लगानीको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए । पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको पहलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरको नीतिगत सुधारहरू सकारात्मक भएको उल्लेख गर्दै ढकालले भएका नीतिहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
यस्तै, अध्यक्ष ढकालले नेपालको निर्यात व्यापारको अवस्था सन्तोषजनक नरहेको अवस्थामा निर्यातमा दिइने नगद अनुदानलाई निरन्तरता दिनुपर्ने बताए । “नगद अनुदान स्थगनको निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्दछ । अहिले आर्थिक चाप छ भने यसको हिसाब राखौँ र पछि भुक्तानी गर्ने व्यवस्था मिलाऔँ । तर, यसको निरन्तरता आवश्यक छ,” उनले भने । उद्योग विभागले गत अजोज महिनामा एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन नलिने जानकारी गराएको थियो ।
उनले देश विकासको लागि बाह्य लगानीसँगै आन्तरिक पुँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नुपर्ने बताए । “सरकारले वैकल्पिक विकास वित्त कोषको कुरा गर्नुअघि नै सरकारलाई नै सहयोग पुगोस् भनेर महासंघको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरी काम सुरु गरेका छौँ । यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि आवश्यक पुँजीको व्यवस्थापन गर्न सकिने छ,” ढकालले भने ।
अध्यक्ष ढकालले स्टार्टअप र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकारले कोष स्थापना गर्नु सकारात्मक भएको बताउँदै उद्यमशीलताको विकास रोजगारी सिर्जनाको क्षेत्रमा महासंघ सधैँ सहकार्यको लागि तयार रहेको बताए ।

