नेप्से पुनःसंरचना गर्न समिति गठन, को को छानिए सदस्य ?
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनःसंरचना गर्न समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको हो।
सरकारले पाँच सदस्य समिति गठन गरेको छ । जसको संयोजकमा प्रकाशजंग केसी रहेका छन् । यसैगरी, अर्थ मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकका एक कार्यकारी निर्देशक लगायतको समिति गठन भएको हो ।
सरकारले लामो समयदेखि उठ्दै आएको ‘नेप्से सुधार’ सम्बन्धी आवश्यकता, बजार विस्तार, प्राविधिक सुदृढीकरण तथा नियमन-व्यवस्थापनको संरचनामा पुनःसंरचना आवश्यक ठहर गर्दै यसपटक औपचारिक रूपमा अध्ययन प्रक्रिया अघि बढाएको हो।
समिति गठनसँगै नेप्सेको संस्थागत स्वरूप, दक्षता, सरकारी स्वामित्व मोडेल, सेयर बजारको समग्र शासन प्रणाली तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार संरचना पुनःनिर्माणको सम्भावनाबारे प्रतिवेदन तयार पारिनेछ। उक्त समितिले ५० दिन भित्र अध्ययन प्रतिवेदन तयार पारेर बुझाउनु पर्ने व्यवस्था गरिएको अर्थ मन्त्रालय श्रोतले बतायो ।

