आजदेखि सुरु हुँदै एनपीएलको दोस्रो संस्करण, यस्ता छन् सहभागी ८ टिम
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज (मंसिर १ गते) देखि सुरु हुँदैछ। प्रतियोगितामा जनकपुर बोल्ट्ससँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्स गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
दोस्रो संस्करणको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। सो खेल दिउँसो ४ बजेदेखि शुरु हुनेछ। जनकपुर बोल्ट्स पहिलो संस्करणको विजेता हो। जनकपुरले सुदूरपश्चिम रोयाल्सलाई पराजित गर्दै उपाधि जितेको थियो।
यस संस्करणमा लिग चरणका खेलहरू नोभेम्बर १७ (मंसिर १ गते) देखि डिसेम्बर ७ (मंसिर २१ गते) सम्म चल्नेछन्। खेलहरू दुई सत्रमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। पहिलो खेल बिहान ११ः४५ बजे र दोस्रो खेल दिउँसो ४ बजे सुरु हुनेछ।
लिग चरणपछि डिसेम्बर ९ मा अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका टोलीबीच पहिलो क्वालिफायर को खेल हुनेछ। त्यसपछि डिसेम्बर १० मा तेस्रो र चौथो स्थानमा रहेका टोलीबीच एलिमिनेटर हुनेछ।
डिसेम्बर ११ मा पहिलो क्वालिफायरको पराजित र एलिमिनेटरको विजेता टोलीबीच दोस्रो क्वालिफायर खेलिनेछ। यी सबै चरण पार गरेर फाइनलमा पुग्ने दुई टोलीबीच डिसेम्बर १३ मा अन्तिम खेल हुनेछ।
विराटनगर किंग्स
विराटनगर किंग्स एमएडी ड्रिम स्पोट्र्सको स्वामित्वमा छ । टिमका मार्की खेलाडी सन्दीप लामिछाने हुन् । एनपीएलमा मार्की खेलाडीहरू अघिल्लो सिजन हुनुभन्दा अगाडि नै गोला प्रथाबाट चुनिएका थिए । र उनीहरू अझै दुई सिजनका लागि टिमको मार्की खेलाडीका रूपमा रहनेछन् । उनीहरूको मूल्य एक सिजनको २० लाख रुपैयाँ तोकिएको छ । गोला प्रथाबाट चुनिएकाले कतिपय मार्की खेलाडी आफू जन्मेको प्रदेशभन्दा फरक प्रदेशमा परेका छन् ।
सन्दीप खासमा चितवनका हुन् । तर, गोला प्रथा तान्दा उनी विराटनगरको मार्की खेलाडी बनेका थिए । सन्दीप आईपीएलसँगै संसारका प्रमुख फ्रेन्चाइज लिगको अनुभव सँगालिसकेका क्रिकेटर हुन् । तर, सिजन १ मा उनको टिमले केही म्याचमा अकल्पनिय जित हात पार्यो भने केही म्याचमा लज्जास्पद हार । त्यो बेला टिमको कन्सिस्टेन्सीमा समस्या देखिएको थियो । मार्की खेलाडीका रूपमा सन्दीपसँग समर्थकको अपेक्षा पनि खेर गएको सिजन थियो त्यो ।
जनकपुर बोल्ट्स
डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सचाहिँ ड्रिम स्पोर्टसको स्वामित्व छ । यो टिमका मार्की खेलाडी ओपनर आसिफ शेख हुन् । जनकपुर र आसिफ दुवैका लागि मीठो संयोग के भने, उनी आफ्नै प्रदेशको प्रतिनिधित्व गर्ने टिमको मार्की खेलाडी चुनिएका थिए । उनको घर पर्साको वीरगञ्ज हो । जनकपुर बोल्टसमा ललित राजवंशी, अनिलकुमार साहजस्ता खेलाडी छन् ।
काठमाडौं गोर्खाज
यसैगरी, काठमाडौं गोर्खाज काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा छ । यो टिमका मार्की खेलाडी करण केसी हुन् । तीव्र गतिका बलर करण क्लिन हिटर पनि हुन् । अघिल्लो सिजनको एनपीएलमा उनको प्रदर्शन मध्यमस्तरको मात्र थियो । यसपालि के गर्छन् हेर्न बाँकी छ ।
चितवन राइनोज
यसैगरी, कुशल मल्ल मार्की खेलाडी रहेको चितवन राइनोज चितवन मेडिकल कलेजको स्वामित्वमा छ । कप्तानका रूपमा कुशलले अघिल्लो सिजन राम्रै भूमिका निभाए तर टिमलाई सफल बनाउन सकेनन् । मैदानमा उनी आक्रामक ब्याटिङ र स्पिन बलिङका कारण चर्चित छन् । उनी रुपन्देहीका हुन् ।
पोखरा एभेन्जर्स
पोहोर खासै राम्रो गर्न नसकेको पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट प्रालिको स्वामित्वमा छ । टिमका मार्की खेलाडी कुशल भुर्तेल हुन् । पोहोर कुशलले समर्थकलाई निराश पारेका थिए । यसपालि उनी त्यो निराशालाई उत्साहमा बदल्ने प्रयासमा हुनेछन् ।
लुम्बिनी लायन्स
लुम्बिनी लायन्स भने फर्चुन हेल्थ केयरको स्वामित्वमा छ । लुम्बिनीका मार्की खेलाडी रोहित पौडेल हुन् । नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहित भरपर्दा ब्याटर मानिन्छन् । टिमलाई उपाधि नै जिताउन नसके पनि एनपीएल सिजन १ मा रोहितको प्रदर्शन सम्झनलायक थियो । रोचक संयोग के भने, मार्की खेलाडीका लागि भएको गोलाप्रथामा उनी आफ्नै प्रदेशभित्रको टिममा परेका थिए । उनी नवलपरासी जिल्लाका हुन् ।
कर्णाली याक्स
कर्णाली याक्सको चर्चा अघिल्लो सिजनमा खेलले भन्दा ज्यादा विदेशी खेलाडी र हाइफाइले भएको थियो । हिमालय बिल्डर्सको स्वामित्वमा रहेको कर्णाली याक्सको टिम स्क्वाड तुलनात्मक रूपमा सबैभन्दा बलियो भएर पनि मैदानमा त्यसको सुखद नतिजा देख्न पाइएन । तर, शिखर धवनजस्ता भारतीय लिजेन्ड अनि बाबर हायतजस्ता हङकङ हस्तीलाई ल्याएर कर्णालीले चर्चा बटुलेको थियो । अन्तिम नतिजा भने निराशाजनक नै रह्यो । कर्णाली याक्समा सोमपाल कामी मार्की खेलाडी छन् । कप्तान पनि उनै हुन् । राष्ट्रिय टोलीका अलराउन्डर उनले घरेलु प्रतियोगितामा सफल कप्तानी पनि निभाइसकेका छन् ।
सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिम रोयल्सको कुरा गर्दैगर्दा ठ्याक्कै भन्न त नमिल्ला, तर एनपीएल टिममध्ये सबैभन्दा बढी फ्यान भएको टिम यही हुनुपर्छ । किनकि जब यो टिमको म्याच हुन्छ, मैदानमा खाली सिट पाउन मुस्किल पर्छ । हुटिङ पनि त्यस्तै बबाल । पहिलो सिजनको उपविजेता सुदूरपश्चिम एम्पायर स्पोर्टसको स्वामित्वमा छ । टिमका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी हुन् । दीपेन्द्रलाई सबै फ्रेन्चाइज टिमले आफ्नो मार्की खेलाडीका रूपमा चाहेका थिए । तर, संयोगले उनी आफ्नै क्षेत्रको प्रतिनिधित्व गर्ने टिममा परे । उनी कञ्चनपुरका हुन् । उनलाई सुदूरपश्चिम रोयल्सका मुख्य हतियार भन्दा हुन्छ । यसो भन्दै गर्दा सम्झना आउँछ, सिजन १ को फाइनलमा उनले फुत्काएको क्याच । यदि त्यो क्याचमा उनी सफल हुन्थे भने सुदूरपश्चिम विजेता बन्ने निश्चित थियो ।
जे होस्, ब्याटिङ, बलिङ, फिल्डिङ र कप्तानी सबैमा अनुभवी र क्षमतावान् छन् दीपेन्द्र । एनपीएलभन्दा अगाडि घरेलु क्रिकेटमा ईपीएल, डीपीएल, पीपीएल र नेपाल टी– २० लिगमा उनले कप्तानी गरिसकेका छन् । दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेटको इतिहासमा सर्वाधिक ९ बलमा अर्धशतक बनाउने खेलाडी हुन् । उनको टिममा विनोद भण्डारी, नरेश बुढाएर, नरेन साउद, खड्ग बोहरा र भोजराज भट्टजस्ता आफ्नै प्रदेशका खेलाडी छन् ।
एनपीएल केमा कसरी हेर्ने ?
तपाईं नेपालमा, त्यो पनि काठमाडौंमै हुनुहुन्छ र हेर्न जान भ्यानुहुन्छ भने टिकट काटेर त्रिवि क्रिकेट मैदानबाटै म्याचहरू हेर्न सक्नुहुन्छ । एनपीएल म्याच हेर्न मैदानमा जानेले भीआईपी र साधारण प्यारापिटतर्फको टिकट खल्ती एपमार्फत काट्न सक्छन् । क्यानले पहिलो चरणमा ६ दिनका लागि टिकट बिक्री खुला गरेको छ । खल्ती एप खोल्नुभयो भने त्यहाँ एनपीएल भन्ने मेनु देखाउँछ, जहाँ टिकट उपलब्ध भए तपाईंले सजिलै काट्न सक्नुहुन्छ ।
उद्घाटन खेल्न हेर्नका लागि साधारण प्यारापिटको ५ सय र भीआईपीको १५ सय तोकिएको छ । शनिबार, शनिबार हुने म्याच हेर्न पनि यही दरको टिकट काट्नुपर्नेछ । त्यसबाहेकका लिग चरणका अन्य खेलका लागि साधारणतर्फ ५ सय र भीआईपीतर्फ एक हजार कायम गरिएको छ । यो पोहोरकै रेट हो । तर, प्लेअफ र फाइनलका लागि भने महँगो पर्ने छ । यी खेल हेर्न साधारणतर्फ एक हजार र भीआइपीतर्फ २ हजार तिर्नुपर्ने छ । पूरै सिजनका पैसा एकैपल्ट तिर्छु भन्नेहरूले १५ हजार तिर्दा सबै म्याच हेर्न पाउनेछन् । उद्घाटन खेलका लागि टिकट बिक्री खुलिसकेको छ ।
घरमा बसेर केमा हेर्ने त एनपीएल ?
पहिलो सिजनको एनपीएल भारतीय च्यानल स्टार स्पोट्र्स र युट्युबमार्फत हेर्न पाइने व्यवस्था मिलाइएको थियो । यसपल्ट युट्युबमा हेर्न पाइने छैन । तर, स्टार स्पोर्टससँगै नेपाली टीभीबाट पनि हेर्न पाइने जानकारी क्यानले दिएको छ । ओटीटी अधिकार भने डिस मिडिया नेटवर्कले पाएको छ । यसको अर्थ डीसहोमको एपमार्फत दर्शकहरूले एनपीएल हेर्न पाउने छन् ।
क्यानले तोकेको मूल्यअनुसार, एनपीएलको दोस्रो संस्करणका सबै खेल डिसहोम गो एपबाट हेर्न पाइनेछ । यसका लगि नेपालका दर्शकले ३ सय रुपैयाँ तिरे पुग्छ । तर, तपाईं पश्चिम एसियाली देशहरू जस्तै साउदी, मेलेसिया, कतार, कुवेत, ओमान, जोर्डन, यूएई, बहराइन, इजरायलमा हुनुहुन्छ भने यो एपबाट एनपीएल हेर्न ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । पश्चिम एसियाबाहेकका देशबाट हेर्न १० अमेरिकी डलर लाग्छ । यसरी पैसा तिरेर डाउनलोड गरिएका एप र वेबसाइटबाट लाइभ खेल हेर्दा विज्ञापन देखाउँदैन ।
डिसहोम गो एप मोबाइल, एन्ड्रोइड टीभी र वेब तीनै माध्यममा एनपीएल हेर्न पाइने बताइएको छ । एनपीएल हेर्न पाइने एपका लागि दर्शकहरूले खल्ती, ई–सेवा, भिसा वा मास्टर कार्ड प्रयोग गरेर सजिलै पैसा तिर्न पाउनेछन् । डिसहोम गोको नयाँ संस्करण एप गुगल प्ले स्टोरमा उपलब्ध रहेको डिसहोमले जनाएको छ । प्रयोगकर्ताहरूले नयाँ एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्ने र आईओएस प्रयोगकर्ताका लागि नयाँ एप केही दिनमा लाइभ हुने कम्पनीले जनाएको छ ।
अब सित्तैमा हेर्न पाइने बेवसाइटहरू । गुगलमा आईपीएलजस्ता विश्वचर्चित लिगहरू सित्तैँमा देखाउने वेबसाइटहरू पनि हुन्छन् । ती वेबसाइटले एनपीएल पनि देखाउन सक्छन् । तर, यस्ता वेबसाइट अनधिकृत हुन्छन्, जवाफहीन पनि हुन्छन् । यस्तोमा पसेर हेर्न खोज्नु दर्शकका लागि साइबर सुरक्षाका दृष्टिले जोखिमपूर्ण हुन्छ । तपाईंका डेटा असुरक्षित हुन्छन्, तपाईंको मोबाइल, सामाजिक सञ्जाल ह्याक हुन सक्छ । त्यसैले केही पैसा तिरेर आधिकारिक वेबसाइटबाट हेर्नु नै बुद्धिमानी र सुरक्षित हुन्छ ।
अब म्याचबाहेकको कुरा गर्ने हो भने, शिलापत्रमा पनि तपाईंले ‘एनपीएल अफ द पिच सेरिज’ हेर्न सक्नुहुने छ, जसमा हामी खेलको प्रिम्याच, पोस्टम्याच रिभ्युदेखि मैदानभित्र र बाहिरको सिनारियो, खेलाडीको कथा, समर्थकको प्रेडिक्सन, खेलको विश्लेषण र अन्तर्वार्ताहरू समेट्नेछौँ ।

