नेपाल टेलिकमद्वारा चित्लाङमा एनटी फाइबर सेवा विस्तार
काठमाडौं । नेपाल टेलिकमले मकवानपुर जिल्लाको पर्यटकीय दृष्टिले महत्वपूर्ण थाहा नगरपालिका–९, चित्लाङमा एनटी फाइबर (FTTH) सेवा विस्तार गरेको छ। श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालय परिसरमा शुक्रबार आयोजित कार्यक्रममा टेलिफोन र इन्टरनेट सेवा सहितको एफटीटीएच सेवा औपचारिक रूपमा सुरु गरिएको हो।
यससँगै चित्लाङ क्षेत्रमा नेपाल टेलिकमको आधारभूत टेलिफोन तथा उच्चगतिको इन्टरनेट सेवाको सुरुवात भएको कम्पनीले जनाएको छ। कम्पनीले यो सेवाबाट स्थानीय बासिन्दा, विद्यालय तथा संस्थाहरू लाभान्वित हुने अपेक्षा राखेको छ।
ग्राहकवर्गको बढ्दो मागलाई ध्यानमा राख्दै नेपाल टेलिकमले केही विद्यालय र सरकारी कार्यालयहरूमा पनि एफटीटीएच जडान प्रक्रिया अघि बढाएको छ। हाल रेडियो ब्याकहोलमार्फत सेवा सञ्चालन गरिएको भए पनि, कम्पनीले निकट भविष्यमा फाइबर ब्याकहोल प्रणालीमार्फत सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।
यसै योजनाअनुसार टेलिफोन, इन्टरनेटसँगै टेलिभिजन सेवासमेत उपलब्ध गराइने तयारी भइरहेको नेपाल टेलिकमले जनाएको छ।
