अक्टोबरमा १ लाख २८ हजारभन्दा बढी पर्यटक भित्रिए
काठमाडौँ । यस वर्षको अक्टोबर महिना मा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिनालाई मुख्य पर्यटकीय याम मानिने भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको हो।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत जनवरीदेखि अक्टोबरसम्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन्। अक्टोबरको तथ्याङ्कलाई हेर्दा, युरोपबाट ४० हजार ५०० र दक्षिण एसियाबाट २९ हजार ६० पर्यटक आएका छन्, जसले गर्दा यो महिनाको कुल सङ्ख्या प्रभावशाली देखिएको छ।
अक्टोबरमा नेपाल भ्रमण गर्ने पर्यटकहरूमा भारतबाट सबैभन्दा धेरै १७ हजार २९८ जना रहेका छन्। त्यसपछि अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, र जर्मनीबाट छ हजार ३६६ जना पर्यटक नेपाल आएका थिए। यसरी प्रमुख स्रोत बजारहरूबाट पर्यटकको आगमन बढ्दा नेपालको पर्यटन क्षेत्रमा थप उत्साह थपिएको छ। रासस
