नेपाल मेडिकल कलेजमा स्टेरोइडको दुरुपयोग नियन्त्रण सम्बन्धी सचेतना
 
                                                                    
                                                                काठमाडौं । अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा छालासम्बन्धी उपचारमा अत्याधिक प्रयोग भइरहेको स्टेरोइडको नियन्त्रित प्रयोग बारे क्षमता विकास कार्यक्रमको आयोजना गरिएको छ । कलेजको छाला रोग विभागद्वारा आयोजित कार्यक्रममा काठमाडौं उपत्यकाका ३५ जना फार्मासिस्टहरुको सहभागिता रहेको थियो ।
टपिकल स्टेरोइडको दुरुपयोगः एक मौन सार्वजनिक स्वास्थ्य खतरा – रोकथाममा फार्मासिष्टको भूमिका शिर्षकको अभिमुखीकरण कार्यक्रममा छालासम्बन्धी रोगहरू — जस्तै एक्जिमा, सोरायसिस, डर्माटाइटिस र एलर्जीजन्य प्रतिक्रियाको उपचारका लागि व्यापक रूपमा प्रयोग गरिने स्टेरोइड चिकित्सकको सिफारिसअनुसार प्रयोग गरिएमा यी औषधि प्रभावकारी र सुरक्षित हुने फर्मासिस्टहरुलाई जानकारी दिइएको छ । पछिल्ला वर्षहरूमा स्टेरोइडको अनियन्त्रित प्रयोग र दुरुपयोग भइरहँदा मानव जीवनमा यो एक मौन सार्वजनिक स्वास्थ्य समस्याका रूपमा देखा परिरहेको र जसले गम्भीर छालाका साथै शारीरिक असरहरू निम्त्याइरहेको जानकारी दिइएको थियो ।
छाला सम्बन्धी कुनैपनि समस्यामा बिरामीहरुले विशेषज्ञ चिकित्सकको सिफारिस भन्दापनि आफुखुसी फार्मेसीबाट स्टेरोइड क्रिम प्रयोग गर्दा छाला पातलो हुने, रगतका स–साना नसाहरु देखिने, रक्तचाप, ब्लड सुगरका समस्याहरु देखिने विशेषज्ञहरुले बताए । स्डेरोइड फार्मेसीहरुमा सहजै उपलब्ध हुने र बिना प्रेस्क्रिप्सन पाइने भएकाले दुरुपयोग बढेको सरोकारवालाहरुको भनाई छ ।
सौन्दर्य प्रयोजन खासगरी छाला गोरो बनाउन वा अनुहारको दागहरु हटाउन स्टेरोइड विभिन्न सौन्दर्य क्रिममा मिसाइन्छ । यस्ता क्रिमले तत्काल राहत वा गोरोपन बढाएपनि दिर्घकालिन असरहरु पर्ने गर्दछ । छाला पातलो हुने, रगतका स–साना नसा देखिने, स्ट्रेच मार्क, अनुहारमा डावर, दागहरु निस्कने, कडा खालको स्टेरोइडले एड्रिनल ग्रन्थिको असर वा दबिने, बच्चामा वृद्धिमा असर, रक्तचाप र ब्लड सुगर वृद्धि हुने तथा छालाका जटिल रोगहरू बढ्ने गर्दछन् । फार्मासिष्टहरूले जनचेतना, नियन्त्रण र परामर्शमार्फत स्टेरोइड दुरुपयोग घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले सचेतना दिइएको हो । उनीहरुले स्टेरोइड विक्रि गर्दा त्यसको फाइदा बेफाइदा बारे बिरामीलाई जानकारी दिने, चिकित्सकको प्रेस्क्रिप्सन बिना स्टेरोइड औषधि नबेच्ने, स्वास्थ्यकर्मीहरूसँग सहकार्य गर्ने, चिकित्सक र छाला रोग विशेषज्ञसँग मिलेर औषधि प्रयोगमा सन्तुलन ल्याउन भूमिका खेल्न सक्ने बताइएको थियो ।
कार्यक्रममा नेपाल डर्माटोलोजिस्ट, भेनेरोलोजिस्ट र लेप्रोलोजिस्ट समाज, फार्मेसी एशोसिएसन अफ नेपाल, इन्टरनेशनल लिगल अफ डर्माटोलोजिकल सोसाइटीले सहकार्य गरेका थिए । कार्यक्रमको प्रमुख अतिथी नेपाल मेडिकल कलेजका प्राचार्य प्रा.डा. मोदनाथ मरहठ्ठा हुनुहुन्थ्यो ।

 
                                                                     
                                                                    