सरकारी सरह पारिश्रमिक माग्दै नर्सहरू सडकमा, दुइघण्टा सेवा ठप्प
काठमाडौं । नेपाल नर्सिङ संघले सरकारीसरह पारिश्रमिक तथा सेवा सुविधा दिन माग गर्दै निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरुले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बुधबार दुइ घण्टा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेको छ । संघको आह्वानमा देशभरका सरकारी तथा निजी अस्पताल तथा शिक्षण संस्थाहरुमा कार्यरत नर्सहरु आन्दोलनमा उत्रिएका हुन् ।
देशभरका नर्सहरुले आआफ्ना संस्थाको प्रांगणमा भेला भएर विहान १० बजेदेखि १२ बजेसम्म प्रदर्शन गरेका थिए । उनीहरुले सरकारी सरह पारिश्रमिक पाउनु पर्ने मागसहित नर्सिङ पेशाको हकहितका १५ बुँदे माग सरकारसमक्ष पेश गर्दै आन्दोलन थालेका हुन् । उनीहरुले दक्ष नर्सिङ जनशक्तिलाई श्रमिकका रुपमा नभइ दक्ष जनशक्तिका रुपमा स्वास्थ्य ऐन अन्तरगत ब्यवस्थापन गरिनु पर्ने, जोखिम भत्ता, अतिरिक्त सेवा वापत छुट्टै पारिश्रमिक, आवश्यकता र मापदण्ड अनुसारको दरवन्दी, शैक्षिक योग्यता र कार्य अनुभवको आधारमा नियमित स्तर बृद्धि र बढुवा, सामुदायिक तथा निजी विद्यालयहरुमा नर्सको दरबन्दी सिर्जना, ज्यालादारीमा काम लगाउन नपाइने ब्यवस्था कडाइका साथ लागू गर्नु पर्ने, सम्पूर्ण दरबन्दी स्थायी विज्ञापन मार्फत पदपूर्ती गर्नु पर्ने, नीति निर्माणमा समान सहभागिता र पहुँच हुनु पर्ने, योग्यता अनुसार विशिष्टीकृत सेवा प्रवाहको ब्यवस्था गर्नु पर्ने, कार्यस्थलमा हुने जोखिम वा दुर्घटनाको उचित क्षतिपूर्ती दिइनु पर्ने लगायतका माग उनीहरुले प्रस्तुत गरेका छन् ।
यसैबीच सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ । नर्सहरूले भने सरकारले यसअघि समेत यस्तै आग्रह गरिसकेको भन्दै त्यसलाई निजी अस्पताल तथा शिक्षण संस्थाहरूले कार्यान्वयन नगरेकाले अबको आन्दोलन समान पारिश्रमिकसहित सबै जायज माग कार्यान्वयन नभएसम्म नरोकिने बताउँछन् ।
