देशैभरका एयरपोर्टमा नेपाल टेलिकमको फ्रि वाईफाई, त्रिभुवन विमानस्थलबाट सुरू
काठमाडौं । नेपाल टेलिकमले विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्रि वाईफाई सञ्चालनमा ल्याएको छ । टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित फ्रि वाईफाई इन्टरनेट सेवा शुभारम्भ गरेको छ ।
कार्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यस्तो सेवा सुरू भएको छ । नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाईफाई इन्टरनेट सेवाको शुभारम्भ गरे ।
उक्त फ्रि वाईफाई इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भीआईपी लाउन्ज तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको छ । देशभर सञ्चालनमा रहेका ३ वटा अन्तरराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलमा फ्रि इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।
सेवाको कभरेज रहेको स्थानमा एसएसआईडी NT-CAAN Free WiFi मा कनेक्ट गरेर निर्देशन पूरा गरी नि:शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ ।
