सीजीआईपीमा बिकाजीको नेपाल प्लान्ट शिलान्यास
राजनीतिक अन्यौलता र आर्थिक अनिश्चितताबीच चौधरी ग्रुपले भित्रायो ठूलो वैदेशिक लगानी
काठमाडौं । देशमा राजनीतिक अन्यौल, आर्थिक अनिश्चितता र निजी क्षेत्रले खेपीरहेको चुनौतीपूर्ण वातावरणबीच चौधरी ग्रुपले वैदेशिक लगानी भित्रयाएको छ । चौधरी ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले भारतको प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल सँगको सहकार्यमा नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्रीको शिलान्यास गरेको हो ।
बुधबार आयोजित भूमिपूजन समारोहमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा प्लान्टको शिलान्यास गरेका हुन् । समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको समेत उपस्थिती थियो ।
हालैको जेन जी आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यवसायिक प्रतिष्ठानहरूमाथि आगजनी एवं तोडफोड भएको थियो । सीजी इलेक्ट्रोनिक्सको मुख्य केन्द्रमाथि आगजनी गरेर ध्वस्त बनाइनुका साथै ग्रुपका अध्यक्ष विनोद चौधरीको निजी निवासमा पनि आगजनी गरिएको थियो । उक्त घटनापछि ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले यस्ता घटनाका वावजुद सीजीको नेपालप्रतिको प्रतिवद्धतामा कमि नआउने र नेपालको आर्थिक विकासका लागि नयाँ सोंचका साथ अगाडि बढ्ने संकल्प सार्वजनिक गरेका थिए । उक्त घटनाको करिव डेढ महिना वितिरहदा चौधरीले ग्रुपले नेपालमा बहुराष्ट्रिय कम्पनीलाई भित्रयाएको हो ।

बिकाजीसँगको साझेदारीमा निर्माण हुन लागेको यो फ्याक्ट्रीमार्फत भुजिया, नमकीन लगायत बिकाजीका अन्य लोकप्रिय स्न्याक्सहरुको उत्पादन गरिनेछ । यो साझेदारी नेपालको खाद्य उद्योगलाई नयाँ गतिमा अघि बढाउने, आयातमा निर्भरता घटाउने र नेपाली बजारका लागि विश्वस्तरीय उत्पादन उपलब्ध गराउने विश्वास दुवै कम्पनीले लिएका छन् ।
यस प्लान्टमा पहिलो चरणमा करिव ५० करोड रूपैयाँ लगानी हुनेछ भने करिव चार सय रोजगारी श्रृजना हुनेछ ।
शिलान्यास समारोहमा बोल्दै प्रबन्ध निर्देशक वरुण चौधरीले भने, “नेपालको अर्थतन्त्रलाई नयाँ ऊर्जाको आवश्यकता रहेको समयमा हामीले नेपालमा नयाँ क्षेत्रमा लगानी गर्दैछौँ । यसले नेपालप्रति चौधरी ग्रुपको गहिरो प्रतिवद्धतालाई व्यवहारमा पुनः पुष्टि गर्दछ ।”
निराशाबाट गुज्रिरहेको नेपाली अर्थतन्त्रमा यस लगानीले नयाँ आशाको सञ्चार गर्ने विश्वास पनि प्रवन्ध निर्देशक चौधरीले व्यक्त गरे ।

उक्त प्लान्टको स्थापनाले स्थानीय रोजगारीमा नयाँ अवसरहरू श्रृजना हुनेछन् । प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै, स्थानीय किसान र आपूर्तिकर्तालाई लाभ पु¥याउने र नवलपरासीसहित आसपासका ग्रामीण क्षेत्रमा औद्योगिक गतिशीलता ल्याउन यस पहलले सकारात्मक योगदान पुग्ने पनि चौधरीले बताए ।
चौधरी ग्रुप अन्तर्गत रहेको सिजी फुड्स नेपालको अग्रणी फुड उत्पादक कम्पनी हो । सीजी फुड्सका उत्पादन ६३ देशहरूमा फैलिएका छन् । विश्वभर चर्चित ‘वाइ वाइ’ ब्रान्डको निर्माता सिजी फुड्सले अब नयाँ–नयाँ उत्पादन वर्गहरूमा विस्तार गर्दै नवप्रवर्तन, रोजगारी सिर्जना र राष्ट्रिय औद्योगिकीकरणलाई बल पु¥याइरहेको छ ।
