सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड र सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि संस्थागत परामर्श सेवा तथा निष्काशन र बिक्री प्रबन्धक सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता मिति २०८२ साल असोज २ गते (२०२५ सेप्टेम्बर १८) का दिन काठमाडौंमा सम्पन्न भएको हो।
सम्झौता पत्रमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष आषिश सुवेदीले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार, सुम्निमा हाइड्रोपावर कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा बिक्री गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो।
सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका हुँदै बग्ने पिखुवा खोलामा ४.९ मेगावाट क्षमताको माथिल्लो पिखुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजना सम्पन्न भएपछि उक्त क्षेत्रको ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुग्ने कम्पनीले जनाएको छ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रूपमा दर्ता भएको यस संस्थाले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार र सामूहिक लगानी कोष सेवाहरू प्रदान गर्दै आएको छ।