कांग्रेसको अबको मार्गचित्र : पुनर्जागरणको संघर्ष र नयाँ युगको खोज

रमेश कुमार बोहोरा
काठमाडौं । नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस एउटा यस्तो शक्ति हो जसले देशलाई लोकतन्त्रको उज्यालोमा पुर्यायो तर अहिले आफ्नै छायाँभित्र हराएको जस्तो देखिन्छ । इतिहासमा अंकित त्याग, संघर्ष र बलिदानका गौरवपूर्ण पानाहरू अहिले केवल स्मृतिको तहमा सीमित भइरहेका छन् । मुलुक पुनः संक्रमणकालीन जटिलताबाट गुज्रिरहेको छ जहाँ पुराना शक्ति संरचनाहरू ढल्दै छन् र नयाँ पुस्ता सडकमा परिवर्तनको स्वर उठाइरहेछ । यही अवस्थामा नेपाली कांग्रेस आफैंसँग प्रश्न गरिरहेको छ । हामी कहाँ छौं र अब कहाँ जाने ?
सन् १९४७ मा प्रजातान्त्रिक मूल्य र मान्यताको बीज रोप्ने उद्देश्यले स्थापित भएको नेपाली कांग्रेसले राणा शासनविरुद्धको क्रान्तिमा निर्णायक भूमिका खेलेको थियो । बी.पी. कोइरालादेखि गणेशमान सिंह र किशुनजीहरूसम्मको नेतृत्वले देशलाई लोकतन्त्र, संविधान र नागरिक अधिकारका मार्गमा अघि बढायो । २००७ सालको परिवर्तन २०१७ सालको संघर्ष २०४६ सालको पुनर्जागरण र २०६२/०६३ को आन्दोलनसम्म कांग्रेस अग्रपंक्तिमा रह्यो तर समयको प्रवाहसँगै पार्टीको संगठन, सिद्धान्त र प्रभाव क्रमशः कमजोर बन्दै गएको छ ।
बी.पी. कोइरालाले पार्टीको मूल सिद्धान्त ‘लोकतन्त्र, समाजवाद र राष्ट्रियता’का रूपले परिभाषित गरेका थिए । तर त्यो सिद्धान्त अहिले पार्टीको संरचना र व्यवहारमा हराएको देखिन्छ । लोकतान्त्रिक मूल्यको नाममा अधिनायकवाद, गुटबन्दी र अवसरवादले पार्टीभित्र गहिरो जरा गाडिसकेको छ । विचार र नीतिभन्दा पद र पहुँचको राजनीति हावी भएको छ । यही कारण नेपाली कांग्रेस जनताबाट टाढिँदै गएको हो । २०७४ र २०७९ का आमनिर्वाचनका नतिजाले पनि समर्थनको आधार घट्दै गएको देखाउँछन् । यसको कारण केवल मत प्रतिशत होइन पार्टीभित्रको थकित संरचना र अकार्यशील नेतृत्व हो ।
शेरबहादुर देउवाको लामो नेतृत्वकालले कांग्रेसलाई स्थायित्वभन्दा बढी स्थगनमा राख्यो । नेतृत्व संघर्ष, गुटगत सौदाबाजी, टिकट बाँडफाँड र नीति निर्माणको असंगतिले पार्टीको विश्वसनीयता घटायो यसकै परिणामस्वरूप आजका युवाहरू विशेषगरी जेनजी पुस्ताले कांग्रेसलाई आफ्नो प्रतिनिधि शक्ति ठान्न छोडेका छन् । यही असन्तुष्ट मनोविज्ञानको उपज हो हालको जेनजी आन्दोलन जसले पुरानो राजनीतिक संस्कृतिप्रति अविश्वास प्रकट गरेको छ ।
यो आन्दोलन केवल सडकको नारामा सीमित छैन यो नेपालका युवाहरूको सामूहिक चेतनाको विस्फोट हो । उनीहरूले पुराना पार्टीहरूलाई विफलता, भ्रष्टाचार र अवसरवादको प्रतीकका रूपमा हेरेका छन् । कांग्रेसका लागि यो गम्भीर चेतावनी हो किनकि यी युवाहरू लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने वर्ग हुन् जसको ऐतिहासिक प्रतिनिधित्व कांग्रेसले नै गर्थ्यो । जब यही वर्ग कांग्रेसविना सडकमा उत्रिएको छ त्यो पार्टीको अस्तित्वका लागि मनोवैज्ञानिक झड्का हो ।
अब प्रश्न उठ्छ के कांग्रेसले यो चेतनाको लहर बुझ्न सक्छ ? के पार्टी आफ्ना गल्ती र असफलता स्वीकार गरेर सुधारको बाटो समात्न सक्छ ? के उसले नयाँ पुस्तालाई स्थान दिन सक्ने आँट गर्न सक्छ ?
सभापति देउवाले स्वास्थ्यका कारण कार्यकारी जिम्मेवारीबाट पछि हटेर उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी सुम्पिएपछि नयाँ अध्यायको संकेत देखिएको छ । नेतृत्व हस्तान्तरणको घोषणा पछि सत्ताको मात्र होइन भविष्यको दिशाबारे पनि बहस तीव्र भएको छ । मंसिरमा हुन लागेको महाधिवेशनले यही बहसलाई निर्णायक रूप दिनेछ ।
तर महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया होइन यो आत्मालोचना र मूल सिद्धान्तपुनर्जीवनको अवसर हो । इतिहासले देखाएको छ । कांग्रेसका महाधिवेशनहरू प्रायः औपचारिकतामा सीमित रहँदै आएका छन् । पदका लागि प्रतिस्पर्धा हुन्छ तर विचार र नीतिका लागि होइन यो गल्ती यसपटक पनि दोहोरियो भने कांग्रेसको पुनर्जन्म सम्भव छैन ।
पार्टीभित्र अहिले दुई धार स्पष्ट छन् एक पक्ष पुरानो ढाँचामा हिड्न चाहन्छ अर्को पक्ष नयाँ विचार पुस्तान्तरण र संगठनात्मक रूपान्तरणको माग गरिरहेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको सक्रियताले पार्टीभित्र परिवर्तनको आशा जगाएको छ । उनीहरूको ‘पार्टी रूपान्तरण अभियान’ले कांग्रेसभित्र मात्रै होइन बाहिर पनि नयाँ अपेक्षा सिर्जना गरेको छ । तर संस्थागत रूपमा जरा गाडेको पुरानो ढाँचाले नयाँ विचारलाई ठाउँ दिन अझै सहज छैन ।
कांग्रेसले पुनर्जागरणको बाटो रोज्ने हो भने चरित्र नै परिवर्तन गर्नुपर्छ । नेताप्रधान होइन नीतिप्रधान पार्टी बन्नुपर्छ । सदस्यता प्रणाली, भ्रातृ संस्था, टिकट वितरण र आन्तरिक लोकतन्त्रमा आमूल सुधार नगरी रूपान्तरण सम्भव छैन । अहिले निर्णय प्रक्रिया केन्द्रीय नेतृत्वको स्वेच्छामा सीमित छ । जसले संगठनात्मक अनुशासन र पारदर्शिता दुबै कमजोर बनाएको छ । लोकतान्त्रिक पार्टीमा विधि र प्रक्रियाको शासन हुनुपर्छ तर कांग्रेसमा अझै व्यक्तिकेन्द्रित मानसिकता हावी छ ।
आगामी महाधिवेशनले यी प्रश्नहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ । केवल नयाँ सभापति चयन गरेर पुरानै संस्कार दोहोर्याउने हो भने कांग्रेस जनताको मनबाट हराउनेछ । जनताले अब विचार होइन परिणाम मागिरहेका छन् । उनीहरू शासक होइन, सेवक खोजिरहेका छन् । त्यसैले कांग्रेसले सेवा र उत्तरदायित्वका मूल्य पुनर्स्थापित गर्नुपर्छ ।
नेपालको मध्यमवर्ग, बुद्धिजीवी र लोकतन्त्रप्रेमी वर्ग अझै पनि कांग्रेससँग भावनात्मक रूपमा जोडिएको छ। तर विश्वासको पुनःस्थापना बिना त्यो सम्बन्ध टिक्दैन । अहिले कांग्रेसको समस्या लोकप्रियताको होइन विश्वसनीयताको हो । जनताले कांग्रेसलाई सत्तालोभी, ढिलासुस्ती र गुटगत पार्टीका रूपमा बुझ्न थालेका छन् । यही छवि तोड्न अब नारा होइन व्यवहार परिवर्तन आवश्यक छ ।
पार्टीले आत्मसमीक्षा मात्र होइन आत्मालोचना पनि गर्नुपर्छ । असफल सरकार सञ्चालन, नीतिगत अस्पष्टता, भ्रातृ संस्थाहरूमा देखिएको अनियमितता र भ्रष्टाचारप्रतिको मौनता यी सबैका लागि नेतृत्वले जनतासँग क्षमायाचनासहित नयाँ संकल्प गर्नुपर्छ ।
नयाँ पुस्ताको आवाजलाई पार्टीको केन्द्रमा ल्याउन नसके कांग्रेस पुनर्जीवित हुन सक्दैन । बी.पी. कोइरालाले प्रतिपादन गरेको ‘मानव–केन्द्रित समाजवाद’को अवधारणा अहिले पनि प्रासंगिक छ । तर पार्टी त्यस मानवीय मूल्यभन्दा सत्ता र पहुँचको खेलमा सीमित भएको छ । त्यसैले कांग्रेसले समाजवादी विचारलाई आधुनिक आवश्यकताअनुसार पुनःव्याख्या गर्नुपर्छ ।
आजको नेपाल बेरोजगारी, गरिबी, जलवायु संकट, प्रवासन र प्रविधिगत रूपान्तरणका चुनौतीमा बाँधिएको छ । यी चुनौतीको सामना पुरानो वादले होइन नवीन नीति र व्यवहारिक दृष्टिकोणले मात्र गर्न सकिन्छ । कांग्रेसले अब आर्थिक नीति, शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका सवालमा ठोस दृष्टिकोण प्रस्तुत गर्नुपर्छ ।
लोकतन्त्रको रक्षा केवल संसदमा उपस्थिति जनाएर हुँदैन । यसको मूल सिद्धान्त उत्तरदायित्व, पारदर्शिता र सेवा हो । कांग्रेसले सत्ता सम्हालेका बेला पनि यही भावनालाई जनतासम्म पुर्याउन सकेन । यही कारण लोकतन्त्रप्रतिको जनआस्था कमजोर बन्दै गएको छ ।
अब कांग्रेसको भविष्य उसले आउने महाधिवेशन र आगामी निर्वाचनमा कस्तो व्यवहार प्रदर्शन गर्छ भन्नेमा निर्भर छ । यदि नयाँ नेतृत्व, नीति र सोच अंगीकार गर्न सक्यो भने, पुनर्जागरण सम्भव छ । अन्यथा कांग्रेस केवल अतीतको गौरवमा सीमित हुनेछ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अहिलेको सन्दर्भमा सबैभन्दा बढी जिम्मेवारी बोकेका छन् । उनीहरूले आफ्नो लोकप्रियतालाई संगठनात्मक दक्षता र राजनीतिक परिपक्वतामा रूपान्तरण गर्नुपर्छ । यो क्षण उनीहरूका लागि अवसर पनि हो परीक्षा पनि हो ।
कांग्रेसको रूपान्तरण केवल युवाको जिम्मा होइन पुरानो पुस्ताले पनि आफ्नो भूमिकालाई सम्मानपूर्वक सल्लाहकार तहमा रूपान्तरण गर्नुपर्छ । ६५ वर्षभन्दा माथिका नेताहरूलाई सल्लाहकार भूमिकामा राखी कार्यकारी जिम्मेवारी नयाँ पुस्तालाई सुम्पन सकियो भने पार्टीभित्र सन्तुलित पुस्तान्तरण सम्भव हुन्छ ।
भ्रातृ संस्थाहरूको पुनर्समीक्षा, पेशागत संघसंस्थाहरूको गैरराजनीतिकीकरण, सदस्यता प्रणालीमा पारदर्शिता र संगठनात्मक अनुशासन पुनर्स्थापना कांग्रेस पुनर्जागरणका आधारशिला हुन् । कांग्रेसले आफूलाई पुनर्स्थापित गर्न सकेन भने लोकतन्त्रकै स्वरूप कमजोर हुनेछ किनकि नेपालमा लोकतन्त्रको संस्थागत इतिहास कांग्रेसकै संघर्षसँग गाँसिएको छ ।
अन्ततः कांग्रेसको अबको यात्रा आत्मचिन्तन, आत्मपरिवर्तन र जनसेवाको प्रतिबद्धताबाट शुरू हुनुपर्छ । नेतृत्वले जनताको पीडा महसुस गर्नुपर्छ संगठनले जनताको आवाज सुन्न र समावेश गर्न सिक्नुपर्छ र पार्टीले सत्ता होइन सेवा गर्ने संस्कार पुनर्जीवित गर्नुपर्छ ।
नेपालको नयाँ राजनीतिक नक्सा आजका युवाहरू कोर्दै छन् । सडकमा उत्रिएका ती युवाहरू केवल असन्तुष्ट होइनन् उनीहरू नयाँ नेपालको परिकल्पना गरिरहेका छन् । कांग्रेसले यदि उनीहरूको सपना बुझेर आफ्नो भिजन त्यस दिशामा मोड्न सक्यो भने पुनर्जन्म सम्भव छ । तर यदि पुरानै ढाँचामा बाँधिएर समयसँग लड्ने प्रयास गर्यो भने इतिहासले कांग्रेसलाई अतीतको अध्यायमा मात्र सीमित गर्नेछ ।
अब समय देउवा युगको अन्त्य मात्र होइन नयाँ सोच, नयाँ नेतृत्व र नयाँ कांग्रेसको सुरुवातको हो त्यो कांग्रेस जसले फेरि जनतामाझ आफ्नो नैतिकता, सेवा र उत्तरदायित्वका आधारमा विश्वास पुनःस्थापित गर्न सकोस् । यदि त्यो रूपान्तरण सम्भव भयो भने नेपाली कांग्रेस फेरि एकपटक लोकतन्त्रको सार बन्नेछ । जसले न केवल सत्ता पाउने आकांक्षा राख्छ तर देश र जनताको भविष्य निर्माण गर्ने साहस पनि देखाउँछ ।
(लेखक :- बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ)