रामजीसहित चार जेनजी मन्त्री थपिँदै, सोमबारसम्म शपथको तयारी
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आगामी सोमबारसम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् ।
चमार समुदायबाट पहिलो डाक्टर बनेका रौतहटका रामजी रामसहित चार जना जेनजी पुस्ताका प्रतिनिधिलाई मन्त्रिपरिषद्मा समावेश गर्न प्रधानमन्त्री सुशीला कार्कीले तयारी थालेकी छिन्। आगामी सोमबारसम्म शपथ गराइने गरी मन्त्रीहरूको नाम टुङ्गो लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
रामजी रामलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ। चमार समुदायबाट पहिलो डाक्टर बनेका राम कलेज शुल्क विवादका कारण चर्चामा आएका थिए ।
रामजीसहित मन्त्री बन्ने अन्य तीन जेनजी प्रतिनिधिमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र टासी ल्हाजोम रहेका छन्। श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।
श्रेष्ठ सांस्कृतिक सम्पदा संरक्षणका अभियन्ता हुन्। भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी, पशुपति क्षेत्र र खुलामञ्चमा भएको व्यापारीकरणको विरोध गर्दै उनले निरन्तर आवाज उठाउँदै आएका छन्।
त्यसैगरी बब्लु गुप्ता कोभिड-१९ को समयमा निःशुल्क खाना अभियान सञ्चालन गर्ने युवा अभियन्ता हुन्। उनले ‘हन्ड्रेड ग्रुप’ मार्फत ११० विद्यार्थीलाई निःशुल्क पढाइरहेका छन् र बिरामीका लागि रगत खोज्ने अभियानमा पनि सक्रिय छन्।
हुम्लाको लिमि भ्यालीकी टासी ल्हाजोम जलवायु परिवर्तनका मुद्दामा बोल्दै आएकी युवती हुन्। दिल्ली विश्वविद्यालयको हिन्दु कलेजकी स्नातक टासीले हिमाली समुदायका समस्याबारे अन्तर्राष्ट्रिय मञ्चमा समेत आवाज उठाउने गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका अन्य युवाहरूलाई पनि सचिवालय तहमा समेट्ने तयारी गरेकी छिन्। गत २७ भदौमा अन्तरिम सरकारको नेतृत्व समालेकी उनले यसअघि दुई पटक मन्त्रिपरिषद् विस्तार गरिसकेकी छिन्।
