इजरायलबाट गाजा युद्धविराम योजना अनुमोदन, सोमबारसम्म बन्धक रिहा हुने

काठमाडौं । इजरायलले गाजामा युद्धविराम लागू गर्ने र बन्धकहरूलाई रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ ।
यसपछि, चाँडै युद्धविराम लागू हुने आशा गरिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले सरकारले मृत वा जीवित सबै बन्धकहरूको रिहाइको योजनालाई अनुमोदन गरेको जानकारी दिएको छ ।
यो सम्झौताको अनुमोदन पछि गाजामा युद्धविराम, इजरायली सेना गाजाबाट फिर्ता हुने, बन्धक र शवहरूको आदानप्रदान र गाजामा मानवीय सहायतामा पहुँच हुने विश्वास गरिएको छ ।
यो अमेरिकी गाजा शान्ति योजनाको पहिलो चरण हो । यसमा इजरायलद्वारा प्यालेस्टिनी कैदीहरूको रिहाइ पनि समावेश छ । यसैबीच अमेरिकाले गाजामा करिब २०० सेना पठाएर कोर्डिनेसन सेन्टर बनाउने भएको छ । जसले गाजालाई सामान्य बनाउन सहयोग गर्ने भएको छ ।
त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार मंगलबारसम्म हमासले बन्धक बनाएका सबै जना रिहा हुने बताइएका छन् । सिएनएनका अनुसार हाल हमासको नियन्त्रणमा रहेका २० जना जीवित रहेका छन् ।
त्यस्तै नेपालका विपिन जोशी र इजरायलका सैनिक तामिर निमरोदीको अवस्था अज्ञात रहेको छ । त्यस्तै हमासले बन्धक बनाएका अन्य २६ जनाको मृत्यु भएको छ ।