नेपालको वर्तमान जटील अवस्थाका सम्बन्धमा प्रधानमन्त्रीसंग छलफल

काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री शुशिला कार्कीसँग भेटगरी देशको वर्तमान जटील अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा परेका प्रभावहरुका सम्बन्धमा छलफल गरेको छ । अर्थमन्त्री रामेश्वर खनाल, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ्ग, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याल समेतको उपस्थिति रहेको सो छलफलमा अध्यक्ष चौधरीले नाडा ७ वटा प्रदेशहरु सहित सवै किसिमका अटोमोवाइल वस्तुहरुको प्रतिनिधित्व गर्ने ४९ बर्ष पुरानो संस्था भएको जानकारी दिदै नाडाका सम्बन्धमा सरकारलाई आवश्यक जानकारी समेत दिन नसकेको दुखेसो पोखे ।
यसै क्रममा अध्यक्ष चौधरीले सरकारले नाडाले दिएका सुझावहरु मध्ये दुई तिनवटा सुझावहरुलाई मात्र सम्बोधन गरेमा अटोमोवाइल व्यवसाय गतिशिल हुने बताए ।
अध्यक्ष चौधरीले आम व्यवसायीहरुको शुरक्षा र देशको शान्ति र अमन चयन सबैभन्दा महत्वपूर्ण विषय भएको बताउदै व्यवसायीहरुको उत्थानका लागि सरकारले रोड म्याप समेत तयार गर्नु पर्ने धारणा राखे । सो छलफलमा अध्यक्ष चौधरीले नाडा सरकारसँग सहकार्य गरेर अघि बढन चाहेको बताए ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाकोतर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गरे । उक्त छलफलमा खाशगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट प्रवाह गर्ने प्रकियामा हाल ६० प्रतिशतको सिमा लाई बढाएर ८० प्रतिशत पुर्याउनु पर्ने भन्दै नेपाल सवारी प्रदुषर्ण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा नाडाकोतर्फबाट बन तथा वातावरण मन्त्रालयमा पेश गरिएको सुझावहरुको कार्यान्वयनका लागि समेत अनुरोध गरे । सोहि छलफलको क्रममा अध्यक्ष चौधरीले सरकारले हालै गठन गरेको उद्योग प्रवद्र्धन परिषद्मा नाडाको समेत प्रतिनिधित्व हुने व्यवस्थाका लागि समेत आग्रह गरे ।
छलफलको अन्तमा प्रधानमन्त्री कार्कीले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनको कारणबाट व्यवसायमा पर्न गएको क्षतिप्रति सरकार गम्भिर रहेको बताए । यसै क्रममा उनले आफु कानून व्यवसायी भएकोले नेपालको उद्योग व्यवसायका समस्याहरुका सम्बन्धमा कम जानकार भएको बताउदै नेपालको हरेक आन्दोलनबाट व्यवसायीहरु नै प्रताडित हुनु परेको र नेपालमा व्यवसाय गर्नु जुवा खेल्नु सरह भएको बताए ।