नेप्सेद्वारा सूचीकृत कम्पनीलाई धितोपत्र नवीकरण शुल्क बुझाउन आग्रह

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि सूचीकृत कम्पनीलाई धितोपत्र वार्षिक नवीकरण शुल्क तोकिएको समयभित्र बुझाउन आग्रह गरेको छ। नेप्सेले आज सार्वजनिक सूचना जारी गर्दै असोज मसान्तभित्र शुल्क बुझाउनुपर्ने प्रष्ट पारेको छ।
सूचना अनुसार, ५० करोड रुपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीले रु ५० हजार तथा ५० करोड रुपैयाँभन्दा माथि चुक्तापूँजी भएका कम्पनीले रु १ लाख बराबरको नवीकरण शुल्क बुझाउनुपर्नेछ।
त्यस्तै, ५० करोड रुपैयाँसम्म चुक्तापूँजी भएका डिबेञ्चर र म्युचुअल फण्डले रु २५ हजार र ५० करोड रुपैयाँभन्दा माथि चुक्तापूँजी भएका संस्थाले रु ५० हजार शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
नेप्सेले तोकिएको शुल्क ग्लोबल आइएमई बैंकमा रहेको आफ्नै खातामा जम्मा गर्न सकिने व्यवस्था गरेको छ। तर, तोकिएको समयसीमा भित्र शुल्क नबुझाएमा वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने चेतावनी दिइएको छ। साथै, धितोपत्र सूचिकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने प्रावधान रहेको नेप्सेले स्मरण गराएको छ।
नेप्सेले सूचीकृत कम्पनीलाई समयमै शुल्क बुझाई आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गर्दै, यसले पूँजी बजारमा पारदर्शिता, अनुशासन र नियमिततालाई बल पुर्याउने विश्वास व्यक्त गरेको छ।