नबिल बैंकले कमायो ७ अर्बभन्दा बढी नाफा

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १५.०१ प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ भने लाभांश क्षमता १७.६४ प्रतिशत रहेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशत, खुद फी तथा कमिसन आम्दानी ५.३८ प्रतिशत, सञ्चालन आम्दानी ३.४२ प्रतिशत र सञ्चालन मुनाफा २५.४४ प्रतिशत बढेको छ ।
बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ ।
गत आवमा यस बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा लगानी ४ खर्ब १२ अर्ब ७९ करोड गरेको छ । बैंकको खराब कर्जा ४.२७ प्रतिशत रहेको छ ।