कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आयोजना बन्ने

काठमाडौँ । कुमारी बैंक लिमिटेडको नेतृत्वमा सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
बझाङको साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा निर्माण हुने उक्त आयोजनाको लागि शुक्रबार कुमारी बैंकको नेतृत्व तथा एनएमबी बैंक लिमिटेडको सह-नेतृत्वमा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराईज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एन आइ सी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसिएफसि फाइनान्स सहितको सहवित्तीय व्यवस्थापन औपचारिक रूपमा सम्पन्न भएको हो ।
काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच कुमारी बैंक र आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल र प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका छन् ।
नेपालका प्रमुख वाणिज्य बैंकहरूमध्येको एक कुमारी बैंकले हाल ऊर्जा क्षेत्रको विकासमा केन्द्रित हुँदै विभिन्न ६५ भन्दा बढी जलविद्युत तथा सौर्य उर्जा परियोजनाहरूमा लगानी गर्दै आएको छ । बैंकले हालसम्म ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी गरी (प्रतिवद्धता सहित) २,००० मेगावाटभन्दा बढी क्षमताका परियोजनाहरूको वित्तीय व्यवस्थापनमा (सहवित्तीयकरण अन्तर्गत समेत) योगदान गरिसकेको छ । जसमध्ये केहि सञ्चालनमा रहेको र अरु विभिन्न निर्माणाधीन चरणहरूमा रहेका छन् । यी परियोजनाहरूले राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति बढाउन महत्वपूर्ण योगदान पुऱ्याइरहेका छन् ।
४१ अर्ब ६० करोड लागतमा निर्माण हुन लागेको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइनेछ ।
यो आयोजना अर्ध जलाशययुक्त नदी प्रवाही हो । यसको ४.५ घण्टाको पिकिङ क्षमता छ । आयोजनाको बाँधभन्दा तल जैविक बहाव कायम राख्न वर्षभर १.४१ घन मिटर प्रतिसेकेन्ड पानी सेती नदीमा निरन्तर छोडिने व्यवस्था गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) २०८० साल साउन १९ गते भएको थियो । २०८१ वैशाख ३१ गते विद्युत उत्पादन अनुमति पाएको हो । आयोजना पाँच वर्षभित्र बनाइसक्ने र २०८८ असार ३१ गतेभित्र व्यावसायिक उत्पादन सुरू गर्ने लक्ष्य छ ।
आयोजनाबाट वार्षिक एक हजार २२९.६ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान छ । वर्षा याममा ८३४।४९ गिगावाट आवर र सुख्खा याममा ३९५.११ गिगावाट आवर बिजुली उत्पादन हुनेछ ।
उत्पादित विद्युत आयोजनास्थलमै निर्माण गरिने २२० केभीको स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित ४०० केभी बझाङ सब-स्टेसनमार्फत् राष्ट्रिय ग्रिडमा जोडिनेछ ।
आयोजनाको प्रतिमेगावाट लागत करिब १९.२५ करोड रूपैयाँ हुनेछ । पहिलो वर्षमै अनुमानित सात अर्ब ६७ करोड आर्जन हुने अपेक्षा गरिएको छ । आयोजनाको ३० प्रतिशत स्वपुँजी प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ ।
यो आयोजनाबाट स्थानीय पूर्वाधार विस्तार, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा छ ।