आईओई महासचिव सान्तोसद्वारा नेपाल उद्योग वाणिज्य महासंघको प्रशंसा

काठमाडौँ । नेपाल भ्रमणमा रहेका रोजगारदाताहरूको अन्तर्राष्ट्रिय संगठन (आईओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । आज बिहीबार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन् ।
महासंघका अध्यक्ष ढकालको निमन्त्रणामा नेपाल आएका सान्तोसले हालै सहमतिमा भएको न्यूनतम ज्याला निर्धारण, सामाजिक सुरक्षा र औपचारिकीकरणमा महासंघको भूमिका अनुकरणीय रहेको बताए। साथै उनले सरकार र ट्रेड युनियनहरूको पनि रचनात्मक भूमिका रहेको उल्लेख गरे ।
तीन दिने नेपाल भ्रमणमा रहने महासचिव सान्तोस २०८२ साउन ८ देखि १० गते (जुलाई २४-२६, २०२५) सम्म नेपालमा रहनेछन् । यसै वर्ष जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकाल र महासचिव सान्तोसबीच भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले सान्तोसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
अतिकम विकसित मुलुकबाट स्तरोन्नति र आईओईको सहयोग
महासंघमा भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले नेपालको २०२६ मा हुने अतिकम विकसित मुलुकबाट स्तरोन्नति र यसले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पार्ने प्रभावमा आईओईको सहजीकरणका विषयमा चर्चा गरे ।
साथै उनले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा आईओईको सहयोग आवश्यक रहेको बताए । अध्यक्ष ढकालले भने, “नेपालको २०२६ मा हुने एलडीसी स्तरोन्नति हुँदा हामीसँग अवसर र चुनौती दुवै छन् । यसबाट अगाडि बढ्न आईओईका अनुभव आदानप्रदान, विश्व समुदायमा नेपालको पक्षमा पैरवी र सहकार्यका लागि हामी आईओईको सहयोगको अपेक्षा गर्दछौं ।”