नेपाल युवा उद्यमी मञ्चको २१औं वार्षिक साधारणसभा सम्पन्न, सुदिप घिमिरे अध्यक्षमा चयन

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (NYEF) ले आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ कार्यकारिणी समिति गठन गर्दै श्री सुदिप घिमिरेलाई राष्ट्रिय अध्यक्षमा चयन गरेको छ । उक्त घोषणा मञ्चको २१औं वार्षिक साधारणसभाको अवसरमा श्रावण २ गते (जुलाई १८, २०२५) शुक्रवार, काठमाडौंस्थित मर्क्युर होटलमा आयोजित कार्यक्रममा गरिएको हो । यस वर्ष “RESONATE” भन्ने विषयवस्तुलाई आत्मसात गर्दै मञ्चले नेपाली युवा उद्यमशीलता क्षेत्रमा नवीनता, समावेशिता र प्रभावकारिता लाई प्राथमिकताका रूपमा अघि सारेको स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ ।
मञ्चले यो वर्ष नेपाली युवा उद्यमीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने उद्देश्यसहित छिमेकी मुलुकहरूका युवा उद्यमीहरूसँग रणनीतिक साझेदारी विस्तार गर्ने लक्ष्य राखेको छ । साथै, देशभित्रका कलेज, विद्यालय र युवा समुदायहरूसँग सहकार्य गर्दै प्रारम्भिक चरणमै नेतृत्व, उद्यमशीलता र परामर्शको प्रवर्द्धन गर्ने योजना पनि सार्वजनिक गरिएको छ । त्यसैगरी, युवाद्वारा सञ्चालित व्यवसायहरूले भोगिरहेका चुनौतीहरूको पहिचान गर्दै सम्बन्धित निकायहरूसँग सहकार्य गरेर नीतिगत वकालत गर्नेमात्र नभई व्यवसायमैत्री वातावरण सिर्जना गर्ने पनि मञ्चको प्रतिवद्धता रहेको छ ।
कार्यक्रमको औपचारिक उद्घाटन सम्माननीय सभामुख श्री देवराज घिमिरेज्यूले प्रमुख अतिथिको रूपमा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरू, उद्योग व्यवसाय क्षेत्रका अग्रणीहरू तथा साझेदार संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।
साधारणसभाले निम्नानुसारको नयाँ राष्ट्रिय कार्यकारिणी परिषद् चयन गरेको छ
अध्यक्षः श्री सुदिप घिमिरे
निवर्तमान अध्यक्षः श्री कुशल सुन्दर श्रेष्ठ
प्रथम उपाध्यक्षः श्री आभूषण ज्योति कंसाकार
द्वितीय उपाध्यक्षः श्रीमती निविता प्रधान
महिला उपाध्यक्षः श्रीमती ऋचा श्रेष्ठ
कार्यसमिति सदस्यहरूः श्री कृष्ण सापकोटा, श्री पवित्र वहादुर गौतम, सुश्री विलाशा श्रेष्ठ
श्री युनेशराज श्रेष्ठ, श्री सुविन श्रेष्ठ र श्री अभिमन्यु गोल्छा
कार्यक्रममा मञ्चले विगतका उपलव्धिहरूको समिक्षा गर्दै आगामी वर्षका योजनाहरूको खाका पनि सार्वजनिक गर्यो । नव निर्वाचित अध्यक्ष श्री सुदिप घिमिरेले नवप्रवर्तन, समावेशिता र प्रभावमा केन्द्रित आफ्नो रणनीतिक दृष्टिकोण प्रस्तुत गर्दै, मञ्चको उद्देश्य र मूल्यहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्पूर्ण कार्यसमिति सदस्यहरूले पनि आफ्नो भूमिका निर्वाह गर्दै मञ्चलाई नयाँ उचाइमा पुऱ्याउने अठोट दोहोऱ्याए ।
सुदिप घिमिरे SG Group मा एक दशकभन्दा बढी समयदेखि कार्यकारी निर्देशकको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका उद्देश्यकेन्द्रित उद्यमी हुनुहुन्छ । ऊर्जा, उत्पादन, व्यापार र वित्त क्षेत्रहरूमा क्रियाशील SG Group एक स्थापित व्यवसायिक समूह हो। उहाँको NYEF संगको यात्रा २०१९ मा नेपाल युवा उद्यमी मञ्च सुनसरीका संस्थापक अध्यक्षको रूपमा सुरु भएको हो। सन् २०२० देखि राष्ट्रिय कार्यकारिणी परिषद्मा कार्यसमिति सदस्यका रूपमा रहँदै उहाँले मञ्चको रणनीतिक विकास तथा प्रमुख पहलहरूमा उल्लेखनीय योगदान दिँदै आउनुभएको छ ।