विकास हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज आइतबार असार २२ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र लगानीकर्ताले यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यसले असार १८ गते बुधबारदेखि सर्वसाधारणको लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये कम्पनीले ९ लाख ९ हजार १०१ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका र ३ लाख ५४ हजार ५५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । अब कम्पनीले ७० हजार ९१० कित्ता साधारण सेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस कम्पनीको आइपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
