यातायात व्यवस्था विभागका महानिर्देशकसँग सवारी साधन आयात, उत्पादन सम्बन्धी नाडाको छलफल

काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसँग भेट गरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरूमा विस्तृत छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले त्यस विभागले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञासा राख्दै यस सम्बन्धमा सो विभागले गरिरहेको अध्ययन र तयारीको प्रशंसा गरेका छन् ।
यस क्रममा अध्यक्ष चौधरीले उक्त प्रस्तावित निर्देशिकामा भएका बुँदाहरू बारे नाडा र विभागबिच विस्तृत छलफल गरी अघि बढ्नु पर्ने धारणा राखेका छन् । छलफलमा उपस्थित नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले उक्त प्रस्तावित निर्देशिकामा उल्लेखित केही बुँदाहरूको विषयमा थप छलफलको आवश्यकता रहेको बताउँदै उल्लेखित बुँदाहरूका सम्बन्धमा सिल सिलेवार छलफल गरी सो निर्देशिकालाई यथार्थ र व्यावहारिक बनाउनु पर्ने आवश्यकता रहेको धारणा राखेका छन्।
यस क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरूलाई दण्डित गर्नु पर्ने र सही कार्य गर्नेहरूलाई पुरस्कृत गर्नु पर्ने धारणा राखेका छन् । यस क्रममा महासचिव उप्रेतीले नेपालमै ब्याट्री उद्योगहरूको स्थापना भइसकेको जानकारी दिएका छन् ।
सो भेटघाट तथा छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले सो प्रस्तावित निर्देशिका तयार पार्न संयुक्त राष्ट्र र युरोपेली युनियनले के कस्तो व्यवस्था गरेको छ भन्ने बारेमा समेत अध्ययन गरिएको समेत बताएका छन् । छलफलको अन्तमा महानिर्देशक पोखरेलले यस विषयमा नाडा जस्तो मुख्य सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताएका छन् । नेपालमा अहिलेसम्म सवारी साधन आयात सम्बन्धी कुनै स्पष्ट नियम नभएकोले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भइरहेको जानकारी समेत दिएका छन् । सोही क्रममा महानिर्देशक पोखरेलले यस विषयमा नाडासँग सहकार्य गरेर अघि बढ्ने धारणा राखेका छन् ।