ब्रोकरको चुक्ता पुँजी वृद्धि समय थप गर्ने तयारीमा धितोपत्र बोर्ड
काठमाडौं । ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने समय थप गर्ने तयारीमा धितोपत्र बोर्ड रहेको छ । समय थप गर्नको लागि नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ संशोधनको लागि अर्थ मन्त्रालय पठाएको छ । २०८२ सालको चैत मसान्तसम्म समय थप गर्ने गरेर नियमावली संशोधनको लागि अर्थमन्त्रालय पठाएको धितोपत्र बोर्ड स्रोतले जनाएको छ ।
धितोपत्र र्डले २०७९ भदौमा नयाँ ब्रोकर कम्पनीहरुको लागि लाइसेन्स खुला गर्दै सञ्चालनमा रहेका ५० ब्रोकरलाई ३ वर्षभित्र तोकिएको चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो । अहिलेको व्यवस्थाअनुसार २०८२ को असार मसान्तसम्म ब्रोकर कम्पनीहरुले २० करोड चुक्ता पुँजी कायम गर्नुपर्ने हुन्छ ।
‘धितोपत्र दलाल र धितोपत्र व्यापारीले अनुसूची–९ बमोजिमको न्यूनतम चुक्ता पुँजी राख्नुपर्नेछ । तर यो नियम प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले २०८२ साल असार मसान्तभित्र अनुसूची–९ बमोजिमको न्यूनतम चुक्ता पुँजी पुर्याउन बाधा पर्ने छैन’ नियमावलीमा उल्लेख छ । तथापि, उक्त समय ९ महिना थप गरेर चैत मसान्तसम्म समय थप गर्ने तयारी धितोपत्र बोर्डको रहेको छ ।
अझै पनि करिब ६० प्रतिशत ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी नेपाल धितोपत्र बोर्डले निर्धारण गरेको न्यूनतम क्यापिटल भन्दा कम छ । सञ्चालनमा रहेका ५० वटा पुराना ब्रोकर कम्पनीहरुमध्ये पुँजी नपुगेका २१ कम्पनीले मर्जर, बोनस र हकप्रदमार्फत पुँजी पुर्याउने योजना धितोपत्र बोर्ड समक्ष पेश गरेका छन् ।
मर्जरको बाटो रोजेर अधिकांश कम्पनीहरुले धितोपत्र बोर्डमा पुँजी वृद्धिको योजना बुझाएका छन् । हालसम्म पुँजी नपुगेका २१ कम्पनीले मर्जर, बोनस र हकप्रदमार्फत पुँजी पुर्याउने योजना पेश गरेका छन् ।
यता, नयाँ ब्रोकरहरुको भने तोकिए अनुसार चुक्ता पुँजी पुगिसकेको छ । नयाँ लाइसेन्स दिंदा नै उनीहरुलाई बढाइएको न्यूनतम पुँजी कायम गरेर सञ्चालन अनुमति दिइएको थियो । यसआधारमा अब पुरानालाई मात्र पुँजी वृद्धि गर्नुपर्ने बाध्यता रहेको देखिन्छ ।
