कतारस्थित अमेरिकी एयरबेसमा इरानको मिसाइल हमला

काठमाडौं । इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ ।
इरानले सरकारी टेलिभिजनमार्फत कतारस्थित अल उदैद वायुसैनिक बेसमा रहेको अमेरिकी फौजमाथि आक्रमण गरिएको भनेको बेलायती समाचार संस्था द गार्डियनले उल्लेख गरेको छ । केही समयअघि सैन्य संगीत बजिरहेको बेला स्क्रिनमा ‘अमेरिकाको आक्रमणको विरुद्ध इरानी सशस्त्र बलको शक्तिशाली र सफल प्रतिउत्तर’ भनेर क्याप्सन देखाइएको भनिएको छ ।
अमेरिकाले उक्त घटना आफ्नो जानकारीमा आएको भन्दै सोमबारको आक्रमणबारे नजिकबाट अध्ययन गरिरहेको बताएको छ । उसले आफ्ना नागरिकलाई सुरक्षित हुन पनि भनेको छ ।
कतारले केही समयअघि आफ्ना नागरिक र पर्यटकहरूको सुरक्षाका लागि भन्दै हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको घोषणा गरेको थियो । त्यसपछि दोहामा रहेको अमेरिकी एयरवेस खतरामा रहेको सूचना सार्वजनिक भएको थियो ।
जारी इजरायल र इरान द्वन्द्वबीच अमेरिकाले शनिबार इरानतर्फ आक्रमण तेज पारेपछि इरानले जवाफी हमला गरेको अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा परिषद्को आपतकालीन बैठक डाकेका छन् ।
इरान इजरायल तनाव बिस्तार हुँदै कतार लगायत देशमा आउँदा पश्चिम एसिया क्षेत्रमा उत्पन्न संकटले नेपाली लगायत विभिन्न क्षेत्रबाट गएका मजदुरसमेत प्रभावित हुन सक्छन् ।