बीमा क्षेत्रको सुधारका लागि ’वार्षिक बीमा नीति २०८२’ को मस्यौदामाथि अन्तर्क्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्षदेखि लागू हुने ‘वार्षिक बीमा नीति, २०८२’ को मस्यौदामाथि जीवन, लघु जीवन, निर्जीवन, लघु निर्जीवन तथा पुनर्बीमा कम्पनीहरूसँग छुट्टाछुट्टै अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष शरद ओझाले बीमा क्षेत्रलाई विधिसम्मत्, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले वार्षिक नीति प्रणाली लागू गर्न लागिएको जानकारी दिए ।
अध्यक्ष ओझाले भने, “नीति ल्याएपछि कार्यान्वयनका निकाय र शाखा स्पष्ट हुन्छन्, बजेट र स्रोत सुनिश्चित हुन्छ, मूल्याङ्कन गर्न सजिलो हुन्छ र संस्थागत उत्तरदायित्व पनि बढ्छ ।”
बीमा सेवा प्रक्षेपण गर्न सक्ने संयन्त्र निर्माण जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष ओझाले कम्पनीहरूले दाबी भुक्तानीमा हुने ढिलाइलाई प्रमुख समस्या मान्दै छिटो र सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले बीमा कम्पनीहरूलाई यही असार १५ गतेभित्र मस्यौदाबारे साना–ठूला सबै प्रकारका सुझाव दिन आग्रह गरे ।
सरकारी भवन, सडक र पुरातात्विक संरचनाहरूको बीमा गर्नका लागि अध्ययन भइरहेको र सम्बन्धित प्रतिवेदन सरकार समक्ष चाँडै बुझाइने अध्यक्ष ओझाले जानकारी दिए ।
कार्यक्रममा कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको समग्र विकासमा वार्षिक नीतिले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै मस्यौदालाई परिस्कृत बनाउन सबै पक्षको योगदान आवश्यक रहेको बताए ।
मस्यौदा नीति नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारीले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सहायक निर्देशक सुन्दर प्रसाद शर्माले गरेका थिए । कार्यक्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको उल्लेखनीय सहभागिता थियो ।
