सुन, हिरालगायत बहुमूल्य पत्थरमा लगाइएको विलासिता कर खारेज र भ्याट छुट दिन व्यवसायीको माग

काठमाडौं । सुन, हिरालगायत बहुमूल्य पत्थरमा लगाएको विलासिता कर र भ्याट छुट दिन व्यवसायीले आग्रह गरेका छन् । नेपाल रत्न तथा आभूषण संघले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै सरकारलाई हिरा र बहुमूल्य पत्थरलाई पुनः मूल्य अभिवृद्धिकर छुट हुने वस्तुको सूचीमै राख्न आग्रह गरेको हो ।
त्यस्तै, व्यवसायीहरुले सुनमा विलासिता कर लगाउने प्रावधान खारेज गर्नुका साथै, सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका जारी गर्नुपर्ने बताएका छन् । गरगहना व्यवसायलाई पनि निर्यात गर्दा भन्सार फिर्ता सुविधा प्रदान गर्नुपर्ने उनीहरुको माग छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट मार्फत हिरा तथा बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धिकर छुट हुने वस्तुको सूचीबाट हटाएको छ । त्यस्तै, सुन र सुनका गरगहनामा २ प्रतिशत बिलासिता कर लगाएको छ । बजेटमा प्रस्तावित २ प्रतिशत विलासिता करले सुनको कारोबारमा बहुकर प्रणाली (राउन्ड ट्रिपिङ) निम्त्याउने र उपभोक्तालाई ६ प्रतिशतसम्म थप मूल्य तिर्न बाध्य बनाउने नेपाल रत्न तथा आभूषण संघको दाबी छ ।
यसले सुनको बजारमा मन्दी निम्त्याउने, फिर्ता बिक्री प्रणालीमा अवरोध पुग्ने र उपभोक्ताको विश्वास घट्ने खतरा रहेको संघको धारणा छ । हिरा तथा बहुमूल्य पत्थरमा लागू गरिएको १३ प्रतिशत भ्याटले सुनका गहनाको मूल्यमा थप १९ प्रतिशतसम्म मूल्यवृद्धि हुने विश्लेषण छ । यसले गहनाको मूल्य बढ्ने, अवैध आयातलाई प्रोत्साहन गर्ने, आम उपभोक्तालाई गम्भीर आर्थिक भार पर्नुका साथै २५ हजार व्यवसायी र १५ लाखभन्दा बढी कारीगर र मजदुरको रोजीरोटीमा असर पर्ने व्यवसायीको दाबी छ ।
सरकारले लिएको उक्त नीतिले भारत लगायका छिमेकी मुलुकबाट अवैध रूपमा भित्रिनुका साथै खर्बौैै लगानी भएको व्यवसाय डुब्ने व्यवसायीहरुको भनाइ छ । सुनचाँदी व्यवसायीले पनि सुनमा विलासिता कर लगाएको भन्दै बिहीबारदेखि कारोबार बन्द गरेका छन् ।