खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कामहरु वैज्ञानिक विधिबाट भइरहेका छन्ः मन्त्री अधिकारी

काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरु वैज्ञानिक विधिहरुको प्रयोगबाट हुँदै आइरहेको बताएका छन्।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आम उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरुलाई तिव्रता दिइएको बताएका हुन्।
उनले स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थहरुको कडाइका साथ जाँच र नियमन गर्न यसै वर्षदेखि मोबाइल ल्याब भ्यान परिचालन गरिएको जानकारी दिए।
मन्त्री अधिकारीले आम नागरिकले दैनिक उपभोग गर्ने खाना सुरक्षित गराउनका लागि राष्ट्रिय खाद्य स्वच्छता नीति कार्यान्वयनमा लगेको उल्लेख गरे।
कार्यक्रममा मन्त्री अधिकारीले ६ दशकपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन संसद्बाट पारित भई गत साउनदेखि कार्यान्वयनमा आएको मन्त्री अधिकारीको भनाइ थियो।
उनले संयुक्त राष्ट्रसंघले यसवर्षका लागि तय गरेको ‘खाद्य पदार्थमा स्वच्छता, विज्ञानको अपरिहार्यता’ भन्ने नारालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए।