सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक व्यवसायिक बैंकिङका लागि र्यापिड एपिआइ बैंकिङ प्रणालीको सुरुवात
काठमाडौं । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याबस प्रा लि सँगको सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म संचालनमा ल्याइएको छ ।
यस सेवा अन्तर्गत प्रथम चरणमा, व्यवसायिक ग्राहकको सहमतिमा र्यापिड ले ग्राहकको ईआरपी प्रणालीहरूलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ, जसले गर्दा ईआरपी भित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिन्छ ।
साथ,ै दोस्रो चरणमा, र्यापिड विश्वव्यापी मापदण्ड आईएसओ २००२२ तथा एमएफए र ओअथ २ जस्ता प्रविधिहरू प्रयोग गरी भुक्तानी प्रारम्भ गर्ने सुरक्षित एपिआइ उपलब्ध गराउनेछ, जसमा भुक्तानी स्वीकृतिका लागि हस्ताक्षरकर्ता (एकल वा बहु–हस्ताक्षर) परिभाषित गर्न सकिने, क्यूआर कोड र कार्डमार्फत गरिएका कारोबारहरूको सेटलमेन्ट डेटाको विस्तृत भुक्तानी विवरण प्राप्त गर्न सकिने, कर्मचारीहरूको तलब भुक्तानीलाई छिटो प्रभावकारी र स्वचालित गराउन सकिने, एउटा खाताबाट अर्को खातामा रकमान्तर तथा अन्तर बैंक रकमान्तर सहज र सुरक्षित तरिकाले गराउन सकिने, अनलाइन खाता खोल्न सकिने, जस्ता सेवाहरु उपलब्ध हुनेछन् ।
र्यापिडले व्यवसायिक प्रयोगकर्तालाई ओअथ २ मार्फत सुरक्षित डिजिटल सहमतिद्वारा पूर्ण नियन्त्रण दिन्छ, र प्रत्येक महत्त्वपूर्ण कार्यका लागि एक पटक प्रयोग हुने पासकोडको माध्यमबाट थप सुरक्षा प्रदान गर्छ। सम्पूर्ण डेटा आधुनिक पीकेआइ प्रविधिको प्रयोगद्वारा पूर्ण रूपमा इन्क्रिप्ट गरिएको हुन्छ ।
र्यापिडले विश्वव्यापी आईएसओ २००२२ मापदण्डहरू पालना गर्छ, जसले वित्तीय डेटा स्पष्ट, स्थिर, र विश्वासिलो ढाँचामा प्रस्तुत गर्न सुनिश्चित गर्छ — जसले गर्दा व्यवसायिक ग्राहकहरुले छिटो, सही र पूर्ण आत्मविश्वासका साथ वित्तीय कार्य गर्न सक्छन्। ।
यो सेवाले व्यवसायिक ग्राहकहरुको बैंकिङ कारोवारलाई धेरैनै सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।


