एनसेलले सुरु गर्यो ‘लीग अफ क्रिएटर्स’, डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने राष्ट्रव्यापी अभियान

काठमाडौँ । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लीग अफ क्रिएटर्स’ अभियानको सुरुवात गरेको घोषणा गरेको छ। यस अभियानले नेपालभरि फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य राखेको छ।
‘Create. Compete. Conquer.’ (सिर्जना गर, प्रतिस्पर्धा गर, विजय प्राप्त गर) भन्ने उत्साहजनक नारासहित सुरु भएको यस प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रिएटर्स बन्न चाहनेहरूलाई ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ (मेरो नेटवर्क, मेरो कनेक्टिभिटी) भन्ने विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्दछ। प्रतियोगितामार्फत सहभागीहरूले आफ्नो पहिचान बनाउने मौका पाउनेछन्। साथै पुरस्कारका रूपमा एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्ने अवसर प्राप्त गर्नेछन्।
सहभागी प्रतियोगीहरूलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा, एकता तण्डुकारजस्ता सम्बन्धित क्षेत्रका अग्रणी व्यक्तित्वहरू र चर्चित क्रिएटर्सहरूले मार्गदर्शन गर्नेछन्।
एनसेलका मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन्, “यो केवल प्रतियोगिता मात्र होइन, यो एक सिर्जनात्मक विकास यात्रा हो, जसमा मेन्टरशिप, कार्यशालाहरू, वास्तविक अनुभव लिँदै सिक्ने मौका, चुनौतीपूर्ण चरणहरू र रोमाञ्चक पुरस्कारहरू रहेका छन्। यस अभियानमार्फत, हामी नयाँ पुस्ताका हाम्रा नेपाली डिजिटल सामग्री निर्माताहरूलाई सिक्ने, अघि बढ्ने र प्रभावशाली सामग्रीमार्फत परिवर्तन ल्याउन प्रेरणा दिँदै सशक्त बनाउने प्लेटफर्म दिन चाहन्छौँ। नेपालको डिजिटल इकोसिस्टमको हिस्सा भएका नाताले, हामी प्रतिभाको विकास र रूपान्तरणमा सक्रिय भूमिका खेल्न प्रतिबद्ध छौँ।”
प्रतियोगिताका लागि गत शुक्रबारबाट दर्ता खुला गरिएको छ। यो प्रतियोगितामा पहिले अनुभव भएका वा नभएका सबै १६ वर्ष माथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात् क्रिएटर्सले सहभागिता जनाउन सक्छन्।
सहभागीहरूले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडियो तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोस्ट गर्नुपर्दछ। यसरी पोस्ट गर्दा क्याप्सनमा एनसेललाई @Ncell ट्याग गर्दै तोकिएको आफ्नो मेन्टर जस्तै #TeamSanjog र #NcellLeagueOfCreators2025 ह्यासट्याग लेखिएको हुनुपर्दछ। भिडियो पोस्ट गर्ने अन्तिम म्याद जेठ २७, २०८२ रहेको छ।
देशभरिबाट प्राप्त हुने भिडियोहरूबाट उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरहरूले छान्नेछन्, जसले विशेष प्रशिक्षण र मेन्टरशिप प्राप्त गर्नेछन्। यसरी छानिने ५० जना क्रिएटर्स ५ जना मेन्टरको नेतृत्वमा रहने समूहहरूमा विभाजन गरिनेछन् र प्रत्येक समूह एनसेल आइकनमा आयोजना हुने कार्यशालामा सहभागी हुनेछन्।
यो अभियानमा च्यालेन्ज राउन्ड पनि समावेश रहेको छ जसमा सहभागीहरूले आफूलाई प्रदान गरिएको सिर्जनात्मक ब्रिफिङ बमोजिम सामग्री तयार पार्नु पर्ने हुन्छ र विज्ञ निर्णायकहरू त्यसको मूल्याङ्कन गर्नेछन्।
‘लीग अफ क्रिएटर्स’ को ग्रान्ड फिनाले असार १४, २०८२ मा आयोजना गरिनेछ र विजेताको घोषणा गरिनेछ। उत्कृष्ट प्रतिभाहरूलाई मनोरञ्जनात्मक कार्यक्रममाझ सम्मान गरिनेछ। मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षका लागि ब्रान्ड डिल प्राप्त गर्नेछ। यस्तै, नेपालका शीर्ष क्रिएटर्सहरूसँग विशेष प्रशिक्षण, देशव्यापी पहिचान र नेटवर्किङका अवसरहरू यस प्रतियोगिताका थप आकर्षणहरू हुन्।
साथै, एनसेल र अमेरिकी दूतावासका सम्बन्धित प्रतिनिधिहरूले सहभागी क्रिएटर्सहरूको सामग्रीको मूल्यांकन गर्नेछन्। यस प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्दैन। सहभागीहरू अभियान अवधिभर नेपालमै हुनु आवश्यक छ। यस प्रतियोगितामा सहभागी हुन र अन्य थप जानकारीका लागि https://www.google.com/search?q=ncell.com.np/en/individual/league-of-creators मा जान सकिन्छ।
‘लीग अफ क्रिएटर्स’ अभियानमा सहभागी भई आफ्नो प्रतिभा सामग्रीसहित साझा गर्दै डिजिटल दुनियाँमा आफ्नो पहिचान बनाउन एनसेलले आह्वान गरेको छ।