तयारी पोशाक उद्योग संघ र सोलिडारीदादबीच सहकार्यः दिगोपन प्रवर्द्धनका निमित्त ऐतिहासिक कार्यशाला

काठमाडौं । “नेपालको कपडा तथा तयारी पोशाक क्षेत्रमा दिगोपन प्रवर्द्धन” शीर्षक कार्यक्रम २०८२ जेठ १३ गते काठमाडौंमा सम्पन्न भयो । यो कार्यक्रम गार्मेन्ट एशोसिएसन नेपाल र सोलिडारीदाद एसिया नेटवर्कको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै गार्मेन्ट एशोसिएसन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति पशुपति देव पाण्डे ले सोलिडारिदादसँग सहकार्य गर्दै नेपाली कपडा तथा तयारी पोशाक उद्योगमा डी–कार्बनाइजेशन, जल प्रयोगको अनुकूलन, रसायन प्रयोगमा कमी तथा समग्र सशक्तिकरणमा केन्द्रित भई दिगोपनका उपायहरू अघि बढाउनेमा जोड दिए । उनले दीर्घकालीन प्रतिस्पर्धात्मकता र वातावरणीय उत्तरदायित्वका लागि यस्तो सहकार्य अपरिहार्य भएको बताए ।
सोलिडारिदाद एसियाका प्रबन्ध निर्देशक सातार्दु चट्टोपाध्यायले संस्थाको ५६ वर्षको इतिहास र ५६ देशमा रहेको उपस्थिति बारे जानकारी दिए । उनले व्यापारमार्फत विकासको दृष्टिकोण प्रस्तुत गर्दै भारतको पानीपतमा गरिएको उदाहरण प्रस्तुत गरे ।
जहाँ रसायन प्रयोग २२ प्रतिशतले घटाइएको, ऊर्जा खपत कम गरिएको, कार्बन उत्सर्जन घटाइएको, फोहोर व्यवस्थापन सुधारिएको र आर्थिक लाभ समेत हासिल गरिएको उनको भनाइ छ । उनले यस्ता अभ्यासहरू नेपालमा पनि कार्यान्वयन गर्न सकिने विश्वास व्यक्त गरे ।
सोलिडारिदाद एसियाका प्रदूषण व्यवस्थापन प्रमुख तत्हेर जैदीले कपडा र छाला उद्योगमा फोहोर व्यवस्थापनको महत्त्वमाथि प्रकाश पारे । यस्ता अभ्यासहरू वातावरणीय संरक्षणसँगै आर्थिक लाभका दृष्टिकोणले पनि अत्यावश्यक रहेको उनको भनाइ थियो ।
सोलिडारिदादकै योजना, नवप्रवर्तन तथा सिकाइ विभाग प्रमुख नितिन रावले जोखिम मूल्यांकन र सजगताका उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिए । उनले आत्म–मूल्यांकनको लागि संस्थाको टूलकिट प्रस्तुत गर्दै नेपाली उद्योगहरूसँग सहकार्य गर्न इच्छुक रहेको बताए ।
क्षेत्रीय अनुभवको सन्दर्भमा सेलीम रेजा हसनले बंगलादेशको तयार पोशाक उद्योग सस्तो श्रमबाट सुरु भए पनि अहिले प्रतिस्पर्धी शक्ति प्राप्त गरिसकेको उल्लेख गरे । उनले यस क्षेत्रको गहिरो विश्लेषण, नेट–शून्य अनुपालन, श्रमिकको उत्पादकत्व वृद्धिजस्ता विषयहरूमा बल दिए र क्षेत्रीय सहकार्यलाई आवश्यक ठहर गरे ।
त्यस्तै, श्रीलंकाकी देशीय प्रमुख अनिता मुनासिंघेले श्रीलंकामा तयार पोशाक उद्योग जीडीपीमा ठूलो योगदान भएको जनाउँदै सरकार र निजी क्षेत्रबीचको सहकार्य तथा सोलिडारिदादले प्रविधिक सल्लाहकारको रूपमा खेलेको भूमिकाबारे जानकारी दिए । उनले श्रीलंकाको उद्योग मन्त्रालयसँगको सहकार्य अझ गहिरिँदै गएको उल्लेख गरे ।
गार्मेन्ट एशोसियसन नेपालका पूर्व अध्यक्ष तथा नेपाल यु.एस. ए. चेम्वर अफ कमर्शका अध्यक्ष किरण साखले १९८० को दशकपछि नेपालमा यस उद्योगको फड्को मारेको र सहायक उद्योगहरूको विकास र हालका समस्याहरू विशेषगरी उच्च ढुवानी लागत का बारेमा चर्चा गरे । उनले यस्ता चुनौतीहरूको समाधानका लागि संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिए ।
एफएनसीसीआईका उपाध्यक्ष हेमराज ढकालले यस्ता दिगो अभ्यासहरूलाई महासंघले सधैँ साथ दिने प्रतिवद्धता व्यक्त गरे ।
सोलिडारिदाद नेटवर्कका अन्तर्राष्ट्रिय सुपरिवेक्षण बोर्डका सदस्यहरूले पनि आफ्ना धारणा राखे । बोर्ड अध्यक्ष शाहमिन जमानले व्यवसाय सञ्चालनको उच्च लागत बारे चर्चा गर्दै सोलिडारिदादले भ्ग् निर्यात फ्रेमवर्कमा सहयोग प्रदान गर्नसक्ने र वातावरणीय तथा सामाजिक प्रभावको मापन जरुरी भएको उल्लेख गरे ।
डा. एम. एच. मेहताले वातावरणमैत्री समाधानको लागि साझा रोडम्याप आवश्यक रहेको र सबै प्रकारको सहयोग उपलब्ध गराउन तयार रहेको बताए ।
डेलिमा हासरी अजाहारी धर्मवानले यस पहलमा सहभागी हुन पाउँदा खुशी व्यक्त गर्दै सहकार्यमार्फत समस्या समाधानको आशा व्यक्त गरे ।
समापन मन्तव्यका क्रममा कार्यक्रमका प्रमुख अतिथी एफएनसीसीआई र गार्मेन्ट एशोसियसन नेपालका पूर्व अध्यक्ष तथा सार्क चेम्वर अफ कमर्शका उपाध्यक्ष श्री चण्डी राज ढकालले केही समय अघि हस्ताक्षरित समझदारीपत्र कार्यान्वयनमा लैजान अब ढिलाइ गर्न नहुने बताए । उनले दिगोपनका लागि समग्र दृष्टिकोण अवलम्बन गर्दै रोजगारी सिर्जना तथा उद्योगको दीर्घकालीन समृद्धिका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रमको अन्त्यमा गार्मेन्ट एशोसिएसन नेपालका द्वितीय उपाध्यक्ष भूपेन्द्र कुमार बस्नेतले धन्यवाद ज्ञापन गरे । उनले सोलिडारिदाद एसिया नेटवर्कका प्राविधिक सहयोग र प्रतिबद्धतालाई विशेष धन्यवाद दिंदै सम्पूर्ण वक्ता, अतिथि तथा सहभागीहरूलाई कार्यक्रम सफल पार्न योगदान दिएकोमा आभार प्रकट गरे ।
उनले यस कार्यक्रममा भएका छलफलहरूलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै दिगो र प्रतिस्पर्धी गार्मेन्ट उद्योग निर्माणका लागि यस्ता सहकार्यहरूलाई निरन्तरता दिइने बताए ।
यस कार्यक्रमले नेपालको कपडा तथा तयार पोशाक क्षेत्रलाई दिगोपनतर्फ उन्मुख गराउने दिशामा एक महत्त्वपूर्ण आधारशिला निर्माण गरेको अध्यक्ष पाण्डे बताउँछन् । ज्ञान आदानप्रदान, रणनीतिक साझेदारी र दिगो विकासप्रतिको साझा प्रतिबद्धताको माध्यमबाट यस क्षेत्रलाई हरित, लचिलो तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउने सम्भावना देखिएको उनको भनाइ छ ।
गार्मेन्ट एशोसिएसन नेपाल र सोलिडारिदाद एसिया नेटवर्कबीचको सहकार्यले अब आगामी दिनमा प्रभावकारी परिणामहरू दिने अपेक्षा गरिएको छ ।