वाणिज्य बैंकहरुमा निक्षेपभन्दा कर्जाको वृद्धिदर बढी हुन थाल्यो

काठमाडौं। बैंकहरुको निक्षेपभन्दा कर्जा वृद्धिदर धेरै भएको छ । चालु आर्थिक वर्षको १० महिनासम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेपको वृद्धिभन्दा कर्जाको वृद्धि धेरै देखिएको हो । नेपाल बैंकर्स संघले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार गत असार मसान्तदेखि वैशाख मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको कर्जा लगानी ७.४४ प्रतिशतले बढेको छ भने निक्षेपको वृद्धिदर ६.७५ प्रतिशतमात्र रहेको छ ।
यसले आर्थिक गतिविधिमा सामान्य सुधार देखिन थालेको संकेत गर्छ । पछिल्लो समयमा आयातमा सुधार आएकाले कर्जा पनि वृद्धि भएको हो ।
आयाततर्फको कर्जा प्रवाह सबैभन्दा धेरै ६०.५९ प्रतिशतले बढेको छ । लामो समयदेखि कर्जा विस्तार गर्न नसकेर अधिक तरलता (लगानीयोग्य पुँजी थुप्रिने) समस्या व्यहोरिरहेका बैंक तथा वित्तीय संस्थालाई वस्तु आयातमा भएको वृद्धिले लाभ पुर्याएको छ । वस्तु आयात गर्दा व्यवसायीले लिने कर्जा प्रवाहमा भएको वृद्धिसँगै समग्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह विस्तार भएको हो । पछिल्लो १० महिनामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढेको छ ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि वैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.४४ प्रतिशतले बढेर ४९ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यता, चालु आर्थिक वर्षको ८ महिनामा निक्षेप संकलन ६.७५ प्रतिशतले बढेर ६१ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तसम्म वाणिज्य बैंकहरुले ५७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
१८ बैंकको कर्जा लगानी बढ्यो, २ को मात्र घट्यो
चालु आर्थिक वर्षको १० महिनामा १८ बैंकको कर्जा लगानी बढेको छ भने २ बैंकको घटेको छ । कर्जा लगानी घट्नेमा एनआइसी एसिया बैंक र प्रभु बैंक रहेका छन् । यी दुवै बैंकको कर्जा लगानी गत आर्थिक वर्षको असार मसान्तको तुलनमा घटेको हो । सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । यसको कर्जा प्रवाह ४ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । १० महिनामा सबैभन्दा धेरै कर्जा लगानी बढाउनेमा एभरेष्ट बैंक रहेको छ ।