इटर्नल साउण्ड्सले सार्वजनिक गर्यो “जुनकिरी” परियोजना

नेपाली लोक बाजाहरू लाई पश्चिमी शैलीको गीत लेखन र संगीतसँग मिश्रण गरेर प्रस्तुत गरिने
काठमाडौं । डा. सुमन थापा र गौराङ जलानले तयार पारेको गीतिसंग्रह ‘जुनकिरी’ सार्वजनिक भएको छ । बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी इटर्नल साउण्ड्सले उक्त गीतिसंग्रह बजारमा ल्याएको हो ।
‘जुनकिरी’ परियोजना नेपाली र अंग्रेजी गीतहरूको एक सङ्ग्रह हो । यसमा दुई वटा गीत समावेश रहेको छ । ‘मेरो आवाज’ यो नेपाली गीतले प्रियजनलाई गुमाउँदाको दुःखलाई व्यक्त गर्दछ । यस्तै, अंग्रेजी गित (भ्याली अफ सनशाइन’ले मृत्युसँगको वार्तालाप र एक सुन्दर ठाउँमा जानको लागि नडराउने भाव व्यक्त गर्दछ ।
यो परियोजनाले नेपाली लोक बाजाहरू जस्तै, बैसुरी र सारङ्गीको प्रयोगलाई पश्चिमी शैलीको गीत लेखन र संगीतसँग मिश्रण गरेर प्रस्तुत गर्ने प्रयास गर्दछ । यस परियोजनामा विभिन्न संगीतकारहरूले गीतहरूको संगीत संयोजनमा सहयोग गरेका छन् ।
पेशाले चिकित्सक रहेका डा. सुमन थापा विगत लामोसमयदेखि गीत संगितमा पनि उत्तिकै पोख्त छन् । सामाजिक कार्यमा पनि सक्रिय उनी सर्वसाधारणको स्वास्थ्य उपचारका लागि गीत संगीत च्यारीटी पनि गर्दै आएका छन् ।
डा. थापा यस परियोजनामार्फत पनि सामाजिक सेवा नै गर्ने योजनामा छन् ।
त्यसैगरी राष्ट्रिय पुरस्कार विजेता तथा चलचित्र निर्माता गौराङ जलानले नेपाली टिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । उनले भने, ‘ गीत संगीतको कुनै परिधि हँुदैन । संगीतले कुनै भूगोल भन्दैन । संगीत श्रोता भनेको नेपालका हुन् वा भारतका सबै स्रोता नै हुन् ।’
इटर्नल साउण्ड्सले विदेशी संगीतकार, तथा गायकहरुसँग सहकार्य गरिसकेको छ । पहिले नै हरिहरण, शुभा मुगल, अरुणा सायरान, राशिद खान, सोनु निगम, शान, कविता सेठ, पं. विश्वमोहन भट्ट, पं. रोनु मजुमदार, कौशिकी चक्रवर्ती, तौफिक कुरेशी, अमित कुमार, राकेश चौरेसिया, पं. एस. शेखर, कुमरेश राजगोपालन, विदुषी इन्द्राणी मुखर्जी, चन्द्रिका भट्टाचार्य, अभिषेक मलिक, पिउ मुखर्जी आशिष कुलकर्णी, शुभदीप चौधरी, अञ्जना पद्मनाभन, अनन्या पाल, शोभन गांगुली, गौरव सरकारलगायतका थुप्रै प्रतिष्ठित तथा उदाउँदा कलाकारहरूसँग काम गरिसकेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा पनि प्रसिद्ध कलाकारहरू (उनीहरूको सहमतिप्रति निर्भर गर्दै) जस्तै जोन म्याकलफलिन, नोरा जोन्स, रिकी केज, अनुष्का शंकर, ग्रेग एलिस, स्टिभ स्मिथ आदिसँग सहकार्य गरेर परियोजनाहरू निर्माण गर्ने लक्ष्य राखेको इटर्नल साउन्ड्सले जानकारी गराएको छ । यसले भारतबाट ग्रामी पुरस्कार योग्य प्रविष्टि बनाउन सक्ने विश्वास गरिएको छ । यी परियोजनाहरूले विश्व संगीत क्षेत्रमा समेत प्रभाव पार्ने लक्ष्य समेत लिइएको छ ।