ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । ट्रेड टावर लिमिटेडको आइपीओमा आवेदन दिने आज वैशाख २२ गते सोमबार अन्तिम दिन हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि वैशाख ८ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।
ट्रेड टावरले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७ सय रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमाति पाएको छ ।
जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्नेछ । उक्त रकममध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको हो ।
यस कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । इक्रा नेपालले २०८१ मघ ७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ माघ ७ गतेसम्म बाहल रहनेछ ।


