सानिमा रिलायन्सको “मेरो मुटु बाल जीवन बीमा“ योजनाः अब बचत, सुरक्षा र भविष्य निर्माण एकैसाथ
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न “मेरो मुटु बालजीवन बीमा” योजना सार्वजनिक गरेको छ। एक महिनाको उमेरदेखि नै लागू गर्न मिल्ने यो योजनाले बच्चा र अभिभावक दुवैको जीवन एकैसाथ बीमित गर्ने सुविधा दिएको कम्पनीले जनाएको छ।
नयाँ योजनाले दीर्घकालीन बचत र जीवन सुरक्षालाई संयोजनमा ल्याएको छ। योजना अनुसार बीमा अवधिभर अभिभावकको मृत्यु वा स्थायी अशक्तता भएमा बाँकी सबै प्रिमियम मिनाहा हुनेछ भने बीमांक रकमको १ प्रतिशत मासिक रूपमा बीमित बालबालिकाको नाममा भुक्तानी दिइने व्यवस्था छ। यसले शिक्षादेखि भविष्य निर्माणसम्म योगदान पुर्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।
बीमालेख अवधिभर मृत्युका विभिन्न अवस्था र त्यस अनुसारको दाबी प्रक्रिया पनि स्पष्ट गरिएको छ। बीमीत बालकको मृत्यु भएमा बोनस वा बीमांक रकमको २५ प्रतिशतमध्ये जुन बढी हुन्छ त्यो दिइनेछ। अभिभावकको मृत्यु भएको अवस्थामा बीमांक रकम अतिरिक्त प्रिमियमको आधारमा उपलब्ध हुनेछ। एकै घटनामा दुवैको मृत्यु भएमा दुबै पक्षको हक अनुसार छुट्टाछुट्टै दाबी भुक्तानी हुने व्यवस्था गरिएको छ।
सानिमा रिलायन्सका अनुसार यो योजना विशेषगरी बच्चाको उच्च शिक्षा, आकस्मिक खर्च तथा अनुशासित बचतलाई सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको हो। न्यून प्रिमियममै दीर्घकालीन लाभ उपलब्ध गराउने यो बीमालेखले नेपाली परिवारहरूलाई थप वित्तीय सुरक्षाको भरोसा दिने कम्पनीको भनाइ छ।
“जीवन बीमा आजै, अहिल्यै” भन्ने नारासहित सार्वजनिक गरिएको यो योजना नेपाली बीमा बजारमा प्रतिस्पर्धात्मक सुविधा र व्यावसायिक उत्तरदायित्व बोकेको उत्पादनको रूपमा प्रस्तुत गरिएको छ।


